बार्सिलोना र बिल्वाओ उपाधिका लागि भिड्दै


४ बैशाख २०७८, शनिबार
Copa 1 1024x613 1

काठमाडौं, ४ बैशाख । स्पेनिस कोपा डेल रेको उपाधिका लागि आज राति क्याटलान क्लब बार्सिलोना र एथलेटिको बिल्वाओबीच प्रतिस्पर्धा हुँदैछ ।

यो सिजन कोपा डेल रेको च्याम्पियन बन्दै बार्सिलोना उपाधि यात्रालाई अघि बढाउन चहान्छ । बार्सिलोना ला लिगको पनि उपाधि होडमा रहेको छ । यस्तै प्रशिक्षकको रुपमा रोनाल्ड कोम्यानलाई पनि बार्सिलोनामा पहिलो उपाधि जित्ने अवसर छ । उनी यसै सिजनको सुरुवातमा बार्सिलोनामा जोडिएका थिए ।

टोलीसँग कप्तान लियोनले मेस्सीसँगै एन्टोइन ग्रिजमन, औसमाने डेम्वेले, जोर्डी अल्वा, पेड्री, सर्जियो बुस्क्वेट्स, सर्जिनो डेस्ट, क्लेमेन्ट लेङ्लेट, जेराड पिके, रोनाल्ड एराउजो, फ्रान्की डि योङ र गोलरक्षक मार्क आन्दर टेर स्टेगन रहेका छन् । बार्सिलोना २०१८ को कोपा डेल रे च्याम्पियन हो ।

खेल नेपाली समयअनुसार स्टेडियो ओलम्पिको डि सेभियामा राति १ः१५ बजे हुनेछ । बार्सिलोना बिल्वाओलाई पराजित गर्दै सिजनको पहिलो उपाधि जित्न चाहन्छ । गत सिजन बार्सिलोना उपाधिविहीन बनेको थियो ।

यता, एथलेटिको बिल्वाओ पनि बार्सिलोनालाई स्तब्ध पार्दै कोपा डेल रेको च्याम्पियन बन्दै सिजनको दोस्रो उपाधि जित्ने लक्ष्यमा मैदान उत्रनेछ । बिल्वाओले गत जनवरीमा स्पेनिस सुपर कपमा बार्सिलोनालाई अतिरिक्त समयमा ३–२ ले पराजित गर्दै उपाधि जितेको थियो । बिल्वाओ सोही लयलाई दोहोर्याउने योजनामा हुनेछ ।

टोलीसँग इनाकी विलियम्स, राहुल गार्सिया, इकर मुनियन, डानी गार्सिया, युनाई भेन्सेडर, एलेक्स, बेरेन्गुएर, इनिगो मार्टिनेज, ओस्कार डि मार्कोस र गोलरक्षक युनाई सिमोन टोलीमा रहेका छन् ।

बिल्वाओ १९८४ पछि पहिलोपटक उपाधि जित्ने योजनामा हुनेछ । गत सिजन फाइनलमा पुगेपनि बिल्वाओ रियल सोसिडाडसँग १–० ले पराजित हुदै उपाधिबिमुख बनेको थियो । यि दुई टोलीको पछिल्लो ३४ भेटमा बार्सिलोना हावी छ । बार्सिलोनाले २१ खेल आफ्नो पक्षमा पार्दा बिल्वाओ ६ खेलमा विजयी भएको छ । ७ खेल बराबरीमा सकिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७