ऐतिहासिक उचाइमा नेप्से : १० अर्ब ४० करोडको कारोबार


२ जेष्ठ २०७८, आईतवार
nepal stock

काठमाडौं, २ जेठ । साताको पहिलो दिन (आइतबार) सेयर बजार परिसूचक नेप्से २.०३ प्रतिशतले वृद्धि हुँदा २७३८.५० अंकको ऐतिहासिक उचाइमा पुगेको छ । गएको बिहीबार २६८४.०९ अंकमा बन्द भएको बजार परिसूचक नेप्से आइतबार ५४.४१ अंकले बढ्दा नयाँ रेकर्ड बनाएको हो ।

एक महिनाअगाडि वैशाख २ गते २७३५.४० अंकसम्म पुगेको नेप्से आज जेठ २ गते उक्त रेकर्ड तोडेर अगाडि बढेको छ । वैशाख २ गते २७३५.४० अंकसम्म पुगे पनि १३ गते २५०६.६२ अंकसम्म झरेको थियो । तर, त्यसपछि पुनः उकालो लागेको नेप्सेले आज एक महिना अगाडिको रेकर्ड तोडेको हो ।

कोभिड–१९ कारण देशका ७७ मध्ये ४४ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । जसले गर्दा आर्थिक गतिविधि बन्द भएको छ भने नागरिक घरभित्रै बस्न बाध्य छन् । यस्तो अवस्थामा लगानी गर्न सक्ने सेयर बजारप्रति चासो राख्ने नागरिको रोजाइमा सेयर बजार परेको छ । बजारप्रति चासो नराख्ने नागरिकमा पनि सामाजिक सञ्चालमा चल्ने सेयर बजारप्रतिको चर्चाले गर्दा विस्तारै आकर्षण बढ्दै छ ।
आइतबार प्रि–ओपन सेसनमा करिब १० अंकले बढेर २६९३.९१ अंकमा खुलेको नेप्से सुरुवातदेखि नै उकालो लागेको थियो । ‘इन्ट्रा–डे’ कारोबारमा ओपनिङ विन्दुलाई नै न्यून विन्दु बनाएको नेप्से २७३८.५९ अंककसम्म पुगेको थियो ।

आज नेप्सेमा बजार परिसूचकसँगैँ कारोबार रकम पनि उलेख्य रुपमा बढेको छ । नेप्सेमा तेस्रोपटक १० अर्बमाथिको कारोबार हुँदा दोस्रो उच्च रकम १० अर्ब ४० करोड ३८ लाख ७९ हजारको कारोबार भएको छ । २ करोड १३ लाख २८ हजार ८८२ कित्ता सेयर किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो । नेप्सेमा आज सबै उपसूचकमा हरियाली छाउँदा निर्जीवन बिमा उपसूचक सर्वाधिक ४.२८ प्रतिशतले वृद्धि हुँदा विकास बैंक उपसूचक ३.८७ प्रतिशतले बढेको छ । यस्तै, जीवन बिमा उपसूचक ३.०४ प्रतिशतले बढ्दा बजारलाई लिड गर्ने बैंकिङ उपसूचक पनि १.५४ प्रतिशतले बढेको छ ।

बजार परिसूचकसँगै ‘क’ वर्गका कम्पनीको मापन गर्ने सूचक सेन्सिटिभ इन्डेक्स पनि ८.६४ अंकले बढेर ४८८.१४ अंकमा बन्द भएको छ । यता, कारोबार रकममा नेपाल पुनर्बिमा कम्पनीले लिड गरेको छ । कम्पनीको सर्वाधिक ८५ करोड २० लाख ४ हजार रुपैयाँको कारोबार भएको छ । यस्तै, नबिल बैंकसँग मर्जरको हल्ला चलेको एनसीसी बैंकको ३१ करोड ५७ लाखद ५८ हजारको कारोबार हुँदा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको २९ करोड ४९ लाख ९१ हजारको कारोबार भएको छ ।

बजार परिसूचकमा हरियाली छाउँदा सात कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा रुरु जलविद्युत् कम्पनी, शिखर इन्स्योरेन्स, समता घरेलु लघुवित्त, सप्तोकोसी डेभलपमेन्ट बैंक, प्रोग्रेसिभ फाइनान्स, बरुण हाइड्रोपावर र आईएमई जनरल इन्स्योरेन्स रहेका छन् ।

यता, युनियन हाड्रोपावरको सेयर मूल्य ५ प्रतिशतमाथिले गिरावट हुँदा आँखुखोला जलविद्युत् कम्पनी, नारायणी विकास बैंक र घलेम्दी हाइड्रोपावरको सेयर मूल्य करिब ४ प्रतिशतले गिरावट भएको छ । आज कारोबारमा आएका १४६ कम्पनीको सेयर मूल्य बढेको छ । ३२ कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा चार कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७