कमला नदीमा विहानैदेखि उर्लियो बाढी, उच्च सतर्कता अपनाउन आग्रह


१६ असार २०७८, बुधबार
1563013171kamala

सिन्धुली, १६ असार । सिन्धुलीमा कमला नदीमा ठूलो बाढी आएको र अझै बढ्ने क्रममा रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सम्बन्धित क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ ।

आज (बुधबार) बिहान ६ बजे सूचना जारी गरी विभागले भनेको छ, ‘सिन्धुलीस्थित कमला नदी रानीबास जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो रहेकाले नदी तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रमा दिउँसोसम्मै उच्च सतर्कता अपनाऔं। !

यस्तै नवलपरासी र आसपासका ठाउँमा ठूलो पानी परेको छ । बर्दघाट वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएको र त्यस क्षेत्रका स–साना नदीहरुमा आकस्मिक बाढी आउन सक्ने भएकाले तटीय क्षेत्रमा दिउँसोसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

आज प्रदेश–१, प्रदेश–२, वागमती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्न सक्ने मौसमविदले अनुमान गरेका छन् । आजदेखि शनिबारसम्म सप्तकोशीका सहायक नदीहरु तमोर, सुनकोशी, नारायणीका सहायक नदीहरु त्रिशुली, बुढीगण्डकी, मर्स्याङ्दी लगायत वागमती, कन्काई, कमलामाई तथा प्रदेश–१, प्रदेश–२, वागमती र गण्डकी प्रदेशका मध्यपहाडी, चुरे तथा तराईका ससाना खोलाहरुमा आकस्मिक बहाव आउन सक्ने भएकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७