महोत्तरीमा सातौ पटक निषेधाज्ञा थप


१६ असार २०७८, बुधबार
Bardibas bazar

महोत्तरी, १६ असार । महोत्तरीमा निषेधाज्ञाको अवधि पुनः एक साता थप गरिएको छ । आजदेखि लागु हुनेगरी सातौं पटक जारी निषेधाज्ञाको अवधि असार २३ गते मध्यरातसम्मलाई थप गरिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ ।

जिल्लास्थित कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको सिफारिसअनुसार थप एक साता निषेधाज्ञाको अवधि थप गरिएको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए ।

पछिल्लो पटक एक साता थपिएको निषेधाज्ञा खुकुलो बनाइएको छ । यस अवधिमा अत्यावश्यक वस्तुका पसल अब बिहानदेखि साँझ छ बजेसम्म सञ्चालन हुनेछन् । यसअघिको पछिल्लो आदेशमा दिउँसो ३ बजेसम्म यस्ता पसल सञ्चालनको अनुमति थियो । त्यसैगरी अब जिल्लाभरि मात्र सार्वजनिक यातायातका साधन स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन हुनसक्ने आदेशमा उल्लेख छ ।

पछिल्लो आदेशमा विद्यालयहरु कार्यालय प्रयोजनका दैनिक प्रशासनिक कामका लागि खुल्नेछन् तर विद्यार्थी भने अझै विद्यालय नआउने स्पष्ट खुलाइएको छ । सङ्क्रमणको जोखिम कायम नै देखिएको हुँदा थप एक साता निषेधाज्ञा अवधि थपिएको आदेशमा उल्लेख गरिएको छ ।

थप गरिएको निषेधाज्ञा अवधिमा सिनेमाहल, होटल, सभासम्मेलन र भोजभतेर सञ्चालन र आयोजन गर्न नपाइने स्पष्ट आदेश छ । यसैगरी जिल्ला कट्ने गरी सार्वजनिक भाडाका सवारी साधन पनि चल्ने छैनन् । खुकुलो बनाइएको अवधिभित्र पनि सुरक्षाका लागि स्वास्थ्यका मापदण्ड कडाइका साथ अवलम्बन गर्नुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले जानकारी दिए । जिल्लामा विसं २०७८ प्रारम्भयता गत वैशाख २२ गतेदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७