‘अफर’ दिंदै सौराहाका होटल


२२ भाद्र २०७८, मंगलवार
sauraha

चितवन, २२ भदौं । गत वर्षको चैतयता कोभिड–१९ का कारण व्यवसाय गर्न नपाएका सौराहाका होटल व्यवसायीले नेपाली पर्यटक लक्षित प्याकेजहरू सार्वजनिक गर्न थालेका छन् । ठूलो नोक्सान व्यहोरिसकेका व्यवसायी अब पर्यटक आउनेमा आशावादी भएका छन् ।

आन्तरिक पर्यटकलाई लक्ष्य गरी सस्तो मूल्यमा प्याकेज सार्वजनिक गर्न थालिएको हो । होटल नचल्दा समेत कोठा सरसफाइ गरिरहनुपर्ने हुन्छ । सौराहाका युवा व्यवसायी सुमन घिमिरेले कोभिडका समयमा ‘पे नाउ, गो लेटर’ प्याकेजमार्फत ३०० जनाभन्दा बढीको बुकिङ गराएका थिए । यी पाहुना यस वर्ष आउने छन् ।

उनले भने, ‘गएको असारमा मलाई बैंकको ब्याज, किस्ता र अन्य खर्चमा समस्या भएन ।’ उनका पाहुनाले असारअघि नै रकम जम्मा गरिसकेका छन् । यस वर्ष उनीहरू भ्रमणमा आउने छन् । जङ्गल सफारी लजका सञ्चालक घिमिरेले यसपालिको दशैं–तिहार सौराहा अफर सार्वजनिक गरेका छन् । दुई रात तीन दिनको यो प्याकेजमा एउटा लञ्च, दुई वटा डिनर र दुई वटा ब्रेकफास्टसँगै पर्यटकलाई थारू संस्कृति, थारू म्युजियम र हात्ती प्रजनन केन्द्र घुमाइने छ ।

होटल एशोसिएसन नेपालका सदस्य ज्ञानेन्द्रकुमार विष्टको रेन फरेष्टमा पनि यो प्याकेज घोषणा गरिएको छ । विष्टले भने, ‘हामीले दशैं–तिहारलक्षित प्याकेज सार्वजनिक गरेका छौं ।’

उनको प्याकेजमा एक रात दुई दिनको चार हजार ४ सय ४४ पर्दछ । जसमा एक–एकवटा लञ्च, डिनर र ब्रेकफाष्ट पर्दछन् । यससँगै जीप वा हात्ती सफारीमध्ये एक र कल्चरल डान्स प्याकेजमा पर्दछ । होटल सेभेनस्टारले दशैं–तिहार अफर ४० प्रतिशत छुट गरेको छ । कोठामा यो छुट गरिएको हो । होटलका प्रबन्ध निर्देशक माधव दुवाडीले खानामा पनि १० प्रतिशत छुट गरिएको बताए । कर्पोरेट कार्यक्रममा पनि विशेष छुट दिइएको उनले जानकारी दिए । छुटसँगै कार्यक्रम आइरहेका दुवाडी बताउँछन् ।

उनले भने, ‘कर्पोरेट कार्यक्रम, विवाहसँगै कोठा बुकिङ हुन थालेका छन् ।’ भारतीय र मारवाडी समुदायको विवाहको बुकिङ भएको दुवाडीको भनाइ छ । क्षेत्रीय होटल संघका महासचिव गुणराज थपलिया धेरै होटलले केही सस्तोमा नेपाली पर्यटक लक्षित प्याकेज सार्वजनिक गर्न थालेको बताउँछन् ।

उनले भने, ‘अब पर्यटक आउँछन् भन्नेमा हामी आशावादी रहेका छौं ।’ राष्ट्रिय रूपमा नै सौराहामा अन्य समयको तुलनामा अफरमार्फत आन्तरिक पर्यटकलाई छुटको व्यवस्था भएको सन्देश पुर्‍याइदिन उनको आग्रह छ । आन्तरिक पर्यटक भित्र्याउन सकेमा होटल टिक्ने उनी बताउँछन् । सौराहामा ११० होटल र १०० हाराहारी रेष्टुराँ रहेका छन् ।

रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान)का अध्यक्ष दीपेन्द्र खतिवडाले अब रेष्टुरेन्ट साँझ अबेरसम्म चल्न पाउने भएसँगै छुटका अफर ल्याउने विषयमा छलफल थालिएको बताए।

कोभिड घटेको र चाडपर्व आएकाले अब पर्यटक आउनेमा आफूहरू आशावादी भएको खतिवडाको भनाइ छ। उनले भने, ‘जे–जति नोक्सान हामीले व्यहोर्‍यौँ अब नहोलाजस्तो लाग्छ।’ आन्तरिक पर्यटकलाई लक्षित गरी नेपाली परिकारको गुणस्तर विकास गर्नेतर्फ व्यवसायी लागेको उनले जानकारी दिए। क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष दीपक भट्टराई अधिकांश होटलले आन्तरिक पर्यटक लक्षित गरेर प्याकेज सार्वजनिक गरेको बताए। कतिपयले प्याकेज बनाएका छन् भने कतिपयले एकमुष्ट छुट दिएको उनको भनाइ छ।

गत वर्षको चैतयता होटल बन्द हुँदा ठूलो नोक्सान व्यहोरेका व्यवसायीले अब होटल खुल्दै गर्दा आन्तरिक पर्यटकलाई आकर्षित बनाएर व्यवसाय क्रमशः पूर्ववत् अवस्थामा फर्काउन लागिरहेको उनी बताउँछन्। चितवन राष्ट्रिय निकुञ्जभित्र जीप सफारीबाहेकका सबै गतिविधि सञ्चालनमा छन्। निकुञ्जमा दुर्लभ वन्यजन्तु हेर्न यहाँ पर्यटक आउने गर्दछन्। निकुञ्जको मुख्य प्रवेशद्धार सौराहा हो । यो देशकै पर्यटकीय गन्तव्य हो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७