काष्ठमण्डपको छानो छाउन शुरु, हालसम्म ११ करोड ५० लाख खर्च


२२ भाद्र २०७८, मंगलवार
kasthamandap

काठमाडौं, २२ भदौं । काठमाडौंको बसन्तपुरस्थित ऐतिहासिक तथा पूरातात्विक महत्वको सम्पदा काष्ठ मण्डपको छानो छाउने काम शुरु गरिएको छ ।

२०७२ वैशाख १२ गते आएको भूकम्पले क्षतिग्रस्त बनाएको सो सम्पदाको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेपछि छानो छाउने काम शुरु गरिएको हो । सातौं शताब्दीमा बनेको सो सम्पदामा मौलिक प्रविधिकै प्रयोग गरेर झिंगटीको छानो छाउने काम शुरु गरिएको काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिए । उनले सो सम्पदाको पुनर्निर्माणको काम सम्पन्न गर्न अझै केही महिना लाग्ने पनि स्पष्ट पारे ।

हालसम्म यो सम्पदाको पुनर्निर्माणका लागि ११ करोड ५० लाख रुपैयाँ खर्च गरिएको छ । काठमाडौं महानगरपालिकाको अनुदान सहायतामा भइरहेको पुनर्निर्माणको काम छिटो सम्पन्न गरी उद्घाटन गर्ने योजना तय गरिएको समितिका अध्यक्ष शाक्यले बताए । काठैकाठको प्रयोग, झिंगटीको छाना, चारकुने इँटका गरा, लेसाइलो मोटाको लिपाई र मिहिन बुट्टा कुँदिएका काठको विशाल संरचना थियो–काष्ठमण्डप ।

समितिले सोही मौलिक प्रविधिको उपयोग गरी यसको पुनर्निर्माण गरेकाले काम सम्पन्न गर्न समय लागेको पनि स्पष्ट पारेको छ । करिब १९ करोड लागत अनुमान गरिएको सो ऐतिहासिक तथा पूरातात्विक महत्वको सम्पदाको पुनर्निर्माणको काम अव छिट्टै सक्ने समितिको योजना छ । सोही योजना अनुसार छानो छाउने कामलाई शुरु गरिएको समितिका अध्यक्ष शाक्यले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७