भुवन केसीसँग रञ्जित गजमेर पनि भड्किए


२४ फाल्गुन २०७४, बिहीबार
bhuwan ranjit

काठमाडौं, २४ फागुन : सदावहार नायक भुवन केसीमाथि अहिले गीत चोरीको बात लागेको छ । भुवनलाई चलचित्र क्षेत्रमा स्थापित गर्न सहयोग पुर्‍याएका निर्देशक शम्भु प्रधानले आफ्नो अनुमति बिना गीत दुरुपयोग गरेको भन्दै प्रहरीमा उजुरी हालेपछि अहिले नायक भुवन केसी अप्ठ्यारोमा परेका छन् । प्रधानले भर्खरै बजारमा आएको भुवनले निर्माण गरेको चलचित्र ‘कृ’ मा आफ्नो गीत बिना अनुमति प्रयोग गरिएको भन्दै प्रतिलिपी अधिकार अनुसार उजुरी गरेका हुन् ।bhuwan ranjit

अहिले शम्भु प्रधान मात्र होइन अर्का दार्जिलिङबासी भेट्रान संगीतकार रञ्जित गजमेर पनि अहिले भुवन केसीसँग भड्किएका छन् । रञ्जित अहिले नेपाल आएका छन् । रञ्जितको नेपाल आगमन ‘स्याल पनि कराउनु, बाख्रा पनि हराउनु’ भन्ने उखानसँग मिलेको छ । भुवन केसीले गीत चोरी गरेको आरोप लागेकै बेला रञ्जित पनि नेपाल आइपुगेका छन् । ३३ वर्ष अगाडि बनेको सम्झना फिल्मको सुपरहिट गीत ‘उकालीमा अघिअघि’’ को एउटा अंश बिना अनुमति भुवन केसीले आफ्नो फिल्म ‘कृ’ मा समावेश गरेका थिए । ओरिजिनल गीतका रचनाकार र संगीतकार रञ्जित गजमेरले नेपाल आएपछि यो कुरा थाहा पाए । अहिले उनी भुवनप्रति रुष्ट बनेका छन् ।

‘भुवन त मेरो एकदम नजिकको आत्मीय साथी पो हो त,’ उनले भने, ‘मेरो सिर्जनालाई यसरी कपि गर्नुअघि यसो एक कल फोन गरेर सोधेको भए के बिग्रिन्थ्यो र ?’ आफू नेपाल आएपछि पनि भुवनले सम्पर्कको प्रयास नगरेकोमा पनि उनको चित्त दुखाई छ । गजमेरले भने, ‘अरु बेला नेपाल आउना साथ फोन गथ्र्यो, भेट्न आउँथ्यो । तर, यसपाला कुनै खोजी नै गरेको छैन ।’ त्यसो त भुवन आज नै आफ्नो फिल्म ‘कृ’ प्रदर्शनका लागि छोरा अनमोल केसीलाई लिएर जापानतिर लागिसकेका छन् । गजमेर भने आजै सम्झनाका निर्माता–निर्देशक शम्भु प्रधानको साथ लागेर टेकुस्थित महानगरीय प्रहरी परिसर पुगेका थिए । तर, आज सार्वजनिक विदाले गर्दा प्रहरी कार्यालय बन्द थियो, र उनीहरु फर्के । भोलि फेरि बयानका लागि जाने रञ्जितले बताएका छन् ।

आफ्नो फिल्मको गीत चोरी गरिएको भन्दै निर्देशक प्रधानले कृका निर्माताद्वय भुवन केसी र सुवास गिरीविरुद्ध केही दिनअघि प्रहरीमा उजुरी गर्न पुगेका थिए । तर, प्रहरीले संगीतकारको पनि बयान लिनुपर्ने भन्दै उजुरी दर्ता गरेको थिएन । साथै प्रहरीले मुद्दा अघि बढाउनुको साटो दुवै पक्ष बसेर सहमति गर्न पनि सल्लाह दिएको छ । तर, प्रधान सहमतिको मुडमा छैनन् । उनले कृले कमाएको पैसाको ५० प्रतिशत हिस्सा आफूले पाउनुपर्ने माग गरेका छन् । यसका लागि अदालत पनि जाने उनी बताउँछन् । रञ्जितले भने व्यक्तिगतरुपमा आफूले क्षतिपूर्तिको माग गरेका छैनन् । ‘म गीतको सर्जक हुँ, तर फिल्म निर्माताको हिसाबले सबै अधिकार शम्भुजीसँग छ,’ उनले भने, ‘त्यसैले म व्यक्तिगतरुपमा क्षतिपूर्ति माग्दिनँ । अर्काको गीत यसरी सुटुक्क चोरी गर्नेले कानून बमोजिम सजाय पाउनुपर्छ भन्ने मात्रै मेरो माग हो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७