भैरहवालाई हराउँदै पोखरा पहिलोपल्ट फाइनलमा


२१ आश्विन २०७८, बिहीबार
pokhara rahinosss 07kJJDvJ4f

काठमाडौं, २१ असोज । सहान रचिगेको अलराउण्ड प्रदर्शन प्रेरित पोखरा राइनोजले भैरहवा ग्लाडिएटर्सलाई सात विकेटले हराउँदै एभरेस्ट प्रिमियर लिग (ईपीएल) ट्वान्टी–२० क्रिकेटको फाइनलमा स्थान बनाएको छ । पोखरा पहिलोपल्ट फाइनलमा पुगेको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराका कप्तान विनोद भण्डारीले टस जितेर बलिङ गर्ने निर्णय गरेका थिए । उनको त्यो निर्णय सही साबित भयो । ब्याटिङका लागि निम्त्याइएको भैरहवाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ११९ रन बनाएको थियो । १२० रनको लक्ष्य पोखराले १८.२ ओभरमै तीन विकेट गुमाएर पूरा गर्‍यो ।

पोखराले अब उपाधिका लागि चितवन टाइगर्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । पोखरा पहिलो क्वालिफायर्समा चितवनसँग नै ९ विकेटले पराजित भएको थियो । अलराउण्ड प्रदर्शन गर्ने क्रममा रचिगले अविजित ५३ रन बनाउनुका साथै दुई विकेट लिए । १२० रनको लक्ष्य पछ्याएको पोखराले ३५ रन जोड्दा तीन विकेट गुमाइसकेको थियो । तर, रचिगे र विपीन रावलले चौथो विकेटका लागि ८८ रनको अविजित साझेदारी गरेपछि सहज जित हासिल गरेको हो ।

रचिगेले ४४ बलमा सात चौका प्रहार गरे । विपीनले ३४ बलमा तीन चौका र एक छक्कासहित अविजित ४० रन बनाए । रिचार्ड लेभी १४ रनमा रन आउट भए । लोकेश बम शून्य र रित गौतम ६ रनमा पवेलियन फर्किएका थिए । भैरहवाका भुवन कार्कीले एक विकेट लिए ।

त्यसअघि, भैरहवाका लागि कप्तान शरद भेषावकरले सबैभन्दा बढी अविजित ३२ रन बनाएका थिए । भैरहवाले ९.५ ओभरमा ५१ रन बनाउँदा पाँच विकेट गुमाइसकेको थियो । त्यसपछि शरदले आरिफ शेखसँग छैटौँ विकेटका लागि ४१ रनको साझेदारी गर्दै सम्मानजनक स्कोरतर्फ डोहोर्‍याएका थिए । आरिफले २७ रन बनाए । त्यसपछि शरदले धम्मिका प्रसादसँग सातौं विकेटका लागि २७ रनको अविजित साझेदारी गरेका थिए ।

शरदले ३३ बलमा दुई चौका र एक छक्कासहित अविजित ३२ रन बनाए । ओपनर रोहितकुमार पौडेलले १८, प्रदीप ऐरीले ११ र उपुल थरंगाले १० रन जोडे । पोखराका किशोर महतो र सहन राचिगेलेसमान दुई विकेट लिए भने नन्दन यादव र एसेला गुनरत्नेले एक-एक विकेट लिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७