एमाले महाधिवेशन : मध्यराति मतदाता नामावली प्रकाशन, सहमति नजुटे निर्वाचन

उम्मेदवारी मनोनयन लगायतका बाँकी प्रक्रिया बिहानसम्म स्थगित


१३ मंसिर २०७८, सोमबार
umal chair team meeting

चितवन, १२ मंसिर । नेकपा एमालेको चितवन सौराहामा जारी दशौं राष्ट्रिय महाधिवेशनको बन्द सत्रको दोस्रो दिन बित्न लाग्दा मतदाता नामावली प्रकाशित गरिएको छ । निर्धारित कार्यपालिकाभन्दा १२ घण्टा ढिलो अध्यक्ष मण्डलको बैठक बसेपछि सौराहास्थित होटल सेभेनस्टारको बन्दसत्र हलमा सूची टाँसिएको हो । एमालेले महाधिवेशनका लागि निर्वाचित र मनोनित प्रतिनिधिहरुको नाम प्रकाशन गरेको हो । यससँगै एमालेमा अब असहमति हुने पदमा निर्वाचन हुने बाटो पनि खुलेको नेताहरुले बताएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले सहमति गराउँदा नभएका पदमा भोलि निर्वाचन हुनेछ । त्यो निर्वाचनमा २३ सय १५ महाधिवेशन प्रतिनिधिले मत हाल्ने छन् । सर्वसम्मतिका लागि असहमति भएमा तिनै पदमा चुनावी प्रतिस्पर्धा हुनेछ । ओलीको सहमति प्रस्तावमा उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसालले असहमति जनाएका छन् ।

यो मतदाता नामावलीमा रहेका प्रतिनिधिहरुले निर्वाचनमा गएर प्रतिस्पर्धा गर्न चाहने नेतालाई भोट हाल्ने छन् । राजनीतिक दलसम्बन्धी कानुन अनुसार महाधिवेशनको चुनावी प्रक्रियालाई कानुनी दिन पनि मतदाता नामावली प्रकाशन र सहमति नै भए पनि सबै उम्मेदवारको मनोनयन दर्ता अनिवार्य शर्त हो । एमालेले प्रकाशन गरेको सूचना अनुसार ११ बजे मतदाता नामावली प्रकाशित भएको छ । त्यसपछि राति साढे ११ बजे नै उम्मेदवारको दरखास्त फारम वितरण भइसकेको छ । अब राति १ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन तालिका छ ।

यदि सर्वसम्मति नभएमा वा केही पदमा सहमति नजुटेको अवस्थामा सोमबार बिहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म मतदान हुनेछ । एमालेमा अध्यक्ष ओलीको अधिकतम् इच्छा सर्वसम्मति हो । त्यही अनुसार उनले शनिबार बन्दसत्र हलबाट पदाधिकारी र केन्द्री कमिटी छान्ने अधिकार लिएका थिए । तर उनले आफ्नै समूह मिलाउन सकेका थिएनन् । यद्यपि ओलीले विष्णु पौडेललाई मनाएर महासचिवमा शंकर पोखरेललाई अघि बढाउने भएका छन् ।

उम्मेदवारी मनोनयन लगायतका बाँकी प्रक्रिया बिहानसम्म स्थगित
नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको निर्वाचन सम्बन्धी बाँकी प्रक्रिया सोमवार बिहानसम्मका लागि स्थगित भएका छन् । निर्वाचन आयोजका अध्यक्ष डा. विजय सुब्बाले नेपाल प्रेसलाई दिएको जानकारी अनुसार उम्मेदवारी मनोनयन लगायतका बाँकी सबै प्रक्रिया विहान ८ बजेबाट अघि बढ्नेछन् ।

मतदाता नामावली प्रकाशनपछि उम्मेदवारको मनोनयन प्रक्रिया शुरु भएको थियो । राति महाधिवेशन प्रतिनिधिहरुको व्यवस्थापन र उम्मेदवारी फारम वितरणमा प्राविधिक समस्या भएपछि अहिलेकै अवस्थामा स्थगित भएको सुब्बाले नेपाल प्रेसलाई बताए । उनले भने– फारम वितरण भइरहेको थियो । तर अध्यक्ष मण्डलको निर्णय अनुसार अब निर्वाचन प्रक्रियाका बाँकी सबै कार्यहरु सोमवार विहान ८ बजेपछि शुरु हुनेछन् ।

bihan

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७