एमाले महाधिवेशन : निर्वाचन पनि अनिश्चित, भुसालसहितलाई समेट्न थालियो छलफल


१३ मंसिर २०७८, सोमबार
umal chair team meeting

चितवन, १३ मंसिर । चितवनको सौराहामा जारी नेकपा एमालेको १० औं महाधिवेशन झन लम्बिँदै गएको छ । तीन दिनदेखि जारी महाधिवेशनको बन्द सत्रको निर्वाचन अनिश्चित बनेको छ ।

पदाधिकारी सूचीमा नअटाएका केही नेताहरूलाई समेट्न अध्यक्ष केपी शर्मा ओलीले फेरि छलफल अगाडि बढाएका छन् । अहिले पदाधिकारीमा नअटेका भीम आचार्य र घनश्याम भुसाललाई समेट्ने विधिको खोजीबारे छलफल भइरहेको नेताहरुले जानकारी दिएका छन् । ओलीले घोषणा गरेको सर्वसम्मतको सूचीमा भुसाललगायतका नेता नपरेपछि कार्यकर्ताले समेत प्रश्न उठाएका छन् ।

पदाधिकारीमा नअटाएपछि भुसालले उपाध्यक्षमा मनोनयन दर्ता गराएका छन् । यस्तै कोरोना संक्रमण भएर सौराहामै आइसोलेसनमा बसिरहेका भीम आचार्यले पनि सचिवमा उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष केपी शर्मा ओलीले सोमबार सबेरै बिहान ३०१ केन्द्रीय सदस्य र १९ जना पदाधिकारीको सूची वाचन गरेका थिए । त्यसमा उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसालसहितले आपत्ति जनाएका थिए ।

त्यसपछि सहमति नभएका पदमा राति नै निर्वाचन प्रक्रिया शुरु गरेर मतदाता नामावली पनि प्रकाशित गरिएको थियो । ओलीले सहमतिको सूची सार्वजनिक गरे पनि एमाले अध्यक्षमा भीम रावलले उम्मेदवारी दिइसकेका छन् ।

त्यस्तै ओलीको पदाधिकारी सूचीमा नअटाएका नवौँ महाधिवेशनका उपमहासचिव घनश्याम भुसाल, सचिव भीम आचार्य अटेका छैनन् । बरु नवौं महाधिवेशनमा सचिवमा हारेका विष्णु रिमाललाई ओलीले उपमहासचिव बनाएका छन् । अन्य नेताहरुले पनि उपाध्यक्ष र सचिवमा दाबेदारी पेश गरेका छन् । एमालेमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेलसहित निर्विरोध भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७