कारागारभित्रै लागुऔषध कारोबारको ‘सेटिङ’, कर्मचारीसहित १७ जना पक्राउ


२० पुष २०७८, मंगलवार
karagar

काठमाडौं । कारागारका कर्मचारी र जेलभित्रैका बन्दीको मिलेमतोमा लागूऔषध कारोबार हुने गरेको पाइएको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले हालै लागुऔषध कारोबार गर्ने १७ जनालाई पक्राउ गरेपछिको अनुसन्धानमा लागू औषध कारोबार हुने गरेको खुलेको हो । ब्युरोले राजधानीका विभिन्न स्थानबाट ३ समूहमा ७ हजार एम्पुल लागुऔषधसहित उनीहरुलाई पक्राउ गरेको ब्युरोका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक हृदय थापाले जानकारी दिए ।

कारोबारीहरुले बढी पैसा कमाउन महँगो लागुऔषध फेनारगनको एम्पुलमा नुर्फिननको लेबल टासेर बिक्री गर्ने गरेको समेत अनुसन्धानमा खुलासा भएको छ । यस्तो गर्दा मात्रा बढी हुनगई लागू पदार्थ सेवनकर्ताको तत्कालै मृत्यु समेत हुन सक्ने जोखिम रहेको ब्युरो प्रमुख थापा बताउँछन् ।
भारतबाट ८० रुपैयाँमा खरिद गरेर ल्याइने लागुऔषध विभिन्न तह पार गर्दै प्रयोगकर्ताको हातमा पुग्दा १ हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको पनि पाइएको छ । ३ वटा समुहबाट बरामद लागू औषध बजार मूल्य अनुसार २३ लाख बराबरको रहेको ब्युरोले जनाएको छ ।

लागू औषधकै मुद्दामा दोषी ठहर भएर सिन्धुली कारागारमा रहँदै आएका भारतीय नागरिक गुड्डु गुप्ताको योजनामा जेलभित्रैबाट लागू ओषधको धन्दा चल्दै आएको र उनको नेतृत्वमा ८ जनाको संलग्नता रहेको समेत प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । संलग्न रहेका भनिएका ८ जनामध्ये एक जना सिन्धुली जिल्ला कारागारमा कार्यरत कार्यालय सहयोगी समेत रहेको पुष्टि भएको हो ।

त्यहाँ कार्यरत रिता सारु मगर नै कारागारभित्र लागु औषध कारोबार गराउने भूमिकामा रहेको व्युरोले जनाएको छ । सोही कारागारमा कैद भुक्तान गरिरहेका सन्तोष स्याङ्तानको पनि यसमा संलग्नता देखिएको प्रहरीले जनाएको छ । उनी जिल्ला कारागारका टेलिफोन नाइके समेत हुन् । गुड्डु गुप्ताको योजनामा उनीहरुले अवैध कारोबार गरिरहेको प्रहरीको दावी छ । गुड्डु २०६८ सालमा लागू औषधसहित पक्राउ परेका थिए । उनलाई २०६९ सालमा १८ वर्ष जेल सजाय तोकिएको थियो ।

त्यसैअनुसार कैद भुक्तान गरिरहेका उनी जेलभित्रैबाट कारोबार हाँकिरहेको पाइएको छ । टेलिफोन नाइके रहेका सन्तोषलाई पनि ५ वर्ष कैद सुनाइएको थियो । गुड्डु र सन्तोष दुवैलाई सिन्धुली कारागारबाट रौतहट कारागार पठाइएको छ । जेलभित्र रहेको यस गिरोहले भारतबाट नेपालसम्म लागू औषध ल्याउने सञ्जाल नै खडा गरेको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७