शिक्षकलाई कर्मचारी सरह सेवा-सुविधा उपलब्ध हुन्छ : शिक्षामन्त्री


२५ माघ २०७८, मंगलवार
Debendra Poudel

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षकलाई पनि निजामती कर्मचारी सरह सेवा सुविधाको प्रबन्ध गरिने बताएका छन् । ताराखोला गाउँपालिका, बागलुङले आयोजना गरेको शैक्षिक अन्तरक्रियामा उनले सेवा सुविधा र अवसरमा शिक्षकलाई विभेद नगरिने उल्लेख गरे । ‘यस विषयमा मन्त्रालयले निणर्य गरिसकेको छ, आउँदो बजेट, कार्यक्रमपछि कार्यान्वयनमा आउँछ’, मन्त्री पौडेलले भने, ‘अर्थ मन्त्रालय र अरू निकायसँग पनि समन्वय भइरहेको छ ।’

कर्मचारी र शिक्षकको कार्यविभाजन फरक भए पनि तह र सुविधा एउटै हुनुपर्ने मन्त्री पौडेलले बताए । शिक्षकको वृत्ति विकासमा शिक्षा मन्त्रालय संवेदनशील रहेको उनको भनाइ छ । मन्त्री पौडेलले १८ वर्षदेखि रोकिएको शिक्षकको आन्तरिक बढुवाका लागि विज्ञापन खुलाएर प्रक्रिया अगाडि बढाइएको बताए ।

शिक्षक सेवा आयोगको ११ औं संशोधन नियमावली मन्त्रिपरिषदबाट स्वीकृत भएपछि शिक्षक दरबन्दी मिलान, आन्तरिक बढुवा, अध्यापन अनुमति पत्रलगायत कामले गति लिएको उनको भनाइ छ । मन्त्री पौडेलले शिक्षक महासंघका ३३ बुँदे माग सम्बोधनका लागि मन्त्रालय गम्भीर रहेको बताउँदै कतिपय माग पूरा हुँदै आएको बताए ।

विद्यालय समायोजनको प्रक्रिया अगाडि बढाइएको उल्लेख गर्दै अति न्यून विद्यार्थी भएका विद्यालयको पहिचान गरी अन्य विद्यालयसँग गाभिने उनको भनाइ छ । मन्त्री पौडेलले सार्वजनिक शिक्षा सुधारका लागि मन्त्रालयले ५५ बुँदे योजना बनाएर काम थालेको उल्लेख गरे ।

उनले संघीय शिक्षा ऐन, उच्च शिक्षा ऐन र प्राविधिक शिक्षा ऐन निर्माणमा मन्त्रालयले गर्नुपर्ने काम सकिएको बताउँदै अन्य मन्त्रालयसँग छलफल गरी मन्त्रिपरिषदमा लैजाने तयारी भएको बताए । मन्त्री पौडेलले ताराखोलामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गतको प्राविधिक शिक्षालय स्थापना गर्ने प्रतिबद्धता समेत जनाए । उनले ताराखोलामा आधुनिक सुविधायुक्त पुस्तकालय निर्माणका लागि मन्त्रालयमार्फत पहल लिने बताए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७