तीन लाख घुस लिएको आरोपमा प्रधानाध्यापकसहित दुई जना पक्राउ


३० चैत्र २०७८, बुधबार

रौतहट । घुसको रकमसहित रौतहटमा एक प्रधानाध्यापक अख्तियारको फन्दामा परेका छन् । रौतहटको ईशनाथ नगरपालिका-७ मा सञ्चालनमा रहेको विपि कोइराला आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक राकेश ठाकुरलाई बुधबार बिहान अख्तियारको टोलीले पक्राउ गरेको हो ।

प्रधानाध्यापकसँगै एक जना सहयोगी दीपेन्द्रकुमार झालाई पनि अख्तियारले नियन्त्रणमा लिएको छ । आफ्नै विद्यालयका दुई करार शिक्षकको म्याद थप गर्न जनही एक लाख पचास हजार रुपैयाँ लिएको घुसको रकमसहित अख्तियारले प्रधानाध्यापक ठाकुरलाई पक्राउ गरेको हो ।

विद्यालयको उच्च माध्यमिक तहमा अध्यापन गर्ने दुई शिक्षकको म्याद थप गर्न प्रअ ठाकुरले पैसा माग्दै आएका थिए। पैसा माग्ने र प्रअ ठाकुरलाई रकम उठाउनमा निरन्तर सहयोगी भूमिका निर्वाह गर्दै आएका दीपेन्द्र कुमार झालाई पनि अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काठमाडौँबाट आएको केन्द्रीय टोलीले प्रअ र झालाई नियन्त्रणमा लिएको हो । अख्तियारको केन्द्रीय कार्यालयका डिएसपि पुष्पमल्लको नेतृत्वमा आएको टोलीले सदरमुकाम जोड्ने जिल्लाको सहायक मार्गको सरुअठा चोकबाट दुवै जनालाई नियन्त्रणमा लिएको हो ।

अख्तियारको टोलीले चारै तिरबाट घेरा हालेर सरुअठा चौकबाट नियन्त्रणमा लिएको अख्यितारका केन्द्रीय प्रवक्ता श्याम भण्डारीले जानकारी गराएका छन् । सामान्य सोधपुछ पछि प्रअ ठाकुर र सहयोगी झालाई अख्तियारको टोलीले आवश्यक कारबाहीको लागि काठमाडौँ लगेको छ ।

अख्तियारले पक्राउ गरेका प्रअ ठाकुरले शिक्षक नियुक्तिमा लाखौं उठाएको र म्यादथपको नाउँमा शिक्षकलाई दुःख दिँदै आएको गुनासो धेरै आएको अख्तियारको दाबी छ । गतमहिना देवाहीगोनाही नगरपालिकाका प्रमुख धर्मेन्द्रकुमार पटेल र उनका सहयोगीलाई पक्राउ गर्ने टोलीले नै प्रअ ठाकुरलाई पनि नियन्त्रणमा लिएको हो । अख्तियारको टोलीले घुसको रकमसहित रौतहटमा धमाधम पक्राउ गर्न थाले पछि रौतहटमा भ्रष्टाचार र घुसखोरी धेरै बढेको देखिन थालेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७