मिरुनालाई उपेन्द्र सुब्बाले भने : सरी नानी ! हाम्रो समाज साम्प्रदायिक भइसकेछ पत्तै भएन


१९ जेष्ठ २०७९, बिहीबार
Upendra Subba

काठमाडौं : लेखक, कवि तथा कलाकार उपेन्द्र सुब्बाले अभिनेत्री मिरुना मगरमाथि भएको दुर्व्यवहारको घटनापछि अभिव्यक्त बिरोध र गालीहरु दुःख व्यक्त गरेका छन् । सहमतिपछि पनि मिरुनामाथि गाली बर्सिरहेकोमा उनले आपत्ति जनाएका हुन् ।

सुब्बाले नेपाली समाज समाज सङ्किर्ण र साम्प्रदायिक भइसकेको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘पहिचानको पक्षमा बीस वर्ष यता निरन्तर लेख्दै बोल्दै आएको म एउटा सानो लेखक । तर मलाई पत्तै भएन हाम्रो समाज यती सङ्किर्ण र साम्प्रदायिक भइसकेछ । पहिचानको आन्दोलनले हामीबाट मेरो भन्ने भइसकेछौँ । मेरो जाति, मेरो भाषा,मेरो मान्छे ।।यतिसम्म कि हाम्रो जति सबै राम्रो भन्ने भई सकेछौँ । होइन भने त जो जो ले मिरुना मगरलाई तथानाम गाली गर्दै हुनु हुन्छ, फुर्पा भाइको ठाउँमा अरू कोही बाहुन पुजारी कि त क्रिश्चियन पास्टर भएको भए पनि यसोरी नै गाली बेइज्जत गर्नु हुन्थ्यो होला ? म त आदिवासी हुनुमा गर्व गर्थेँ। तामाङ, गुरुङ, मगर, शेर्पा, राई, लिम्बु सब एकै हो सोच्थेँ । यस्तो कुरुप समाज बन्नमा मेरो पनि सानो हात छ । सरी नानी !’

अभिनेत्री मिरुना मगरले पनि मंगलबार आफूमाथि भएको ‘ब्याड टच’को घटनाबारे स्पष्टीकरण दिएकी छिन्। फेसबुकमा लामो स्ट्याटस लेख्दै मिरुनाले आफूलाई जेठ १५ गते सिभिल मलमा फूर्पा तामाङले अनुचित ढंगले छोएको उल्लेख गरेकी छिन्। तर उक्त घटनामा आफूले फूर्पाको माफी स्वीकार गरेको बताएकी छिन्।

‘फूर्पा तामाङले जेठ १५ गते सिभिल मलमा आफूले अनुचित ढंगले नै मलाई छोएको र जेठ १७ गतेको दिन आफूबाट भएको यो दुर्व्यवहारको लागि निःस्वार्थ रूपमा माफी मागेको र मैले उहाँको माफी स्वीकार गरेकी छु’, मिरुनाले लेखेकी छिन्, ‘सबै पक्षका अग्रज प्रतिनिधि, वरिष्ठ लामागुरूहरू लगायत दुवै पक्षबाट सहमति भएको हो। जेठ १५ मा भएको मेरो कार्य कुनै पनि धर्म र समाजविरूद्ध नभई व्यक्तिविरूद्ध भएता पनि यस घटनाबाट जानआन्जानमा दुखित हुनु हुने बृहत समुदायमा म हार्दिक क्षमायाचना गर्दछु।’

मिरुनाले आफूले कठिन समय भोगेको समेत बताएकी छिन्।

‘यस कठिन समयमा मलाई दिनुभएको अपार समर्थन र हिम्मत अनि मायाको लागी म मेरा सम्पूर्ण सहयोगी मन, प्रंशसकहरू, आफन्तहरू र नेपाली दर्शकहरू सबैमा हृदयदेखि कृतज्ञता प्रकट गर्दछु’, मिरुनाले लेखेकी छिन्, ‘तपाईहरू मध्ये धेरैले मसँग बाँड्न आउनु भएको मेराजस्तै घटनाका कथाहरूबाट म अत्यन्तै प्रभावित भएकी छु। यो समयमा यी कथाहरू बाट साहस जुटाउन सकेकोमा म तपाईहरूको प्रंशसा नगरी रहन सक्दिनँ।’

मिरुनाले गलत कदमका विरुद्ध लड्न सबैलाई आग्रह समेत गरेकी छिन्।

‘चुपचाप आफूले कहिल्यै दु:ख नसहनुहोस् र गलतको विरूद्ध जहिलै लड्नुहोस्’, मिरुनाले लेखेकी छिन्, ‘अहिलेलाई जति नै कठिन भए पनि भोलिको दिन परिवर्तन अवश्य होला। कुनै पनि सहि कार्य गर्नुको निम्ति समय गलत हुँदैन।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७