कालीगण्डकीको बिजुली भारत निर्यात थालियो, प्रतियुनिट १९ रुपैयाँ


२२ जेष्ठ २०७९, आईतवार
electricty
फाइल फोटो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको १४४ मेगावाट जडित क्षमताको कालीगण्डकी ए विद्युतगृहबाट उत्पादित विद्युत् भारत निर्यात शुरु गरेको छ । नेपाल विद्युत् प्राधिकरणले कालीगण्डकी विद्युत गृहबाट उत्पादित विद्युत् राति १२ बजेदेखि निर्यात शुरु गर्न लागेको हो ।

प्राधिकरणले विद्युत् भारतीय ऊर्जा एक्सचेञ्ज (आइएक्स)मा बिहीबारदेखि त्रिशूली र देवीघाट जलविद्युत गृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिकरुपमा करिब ३९ मेगावाट विद्युत् निर्यात गरिरहेको छ । कालीगण्डकीको पनि शुरु भएसँगै प्राधिकरणले १७७.७ मेगावाट विद्युत् भारत निर्यात गर्नेछ । कालीगण्डकी ‘ए’ को १४० मेगावाट, त्रिशूलीको २३.२ मेगावाट र देवीघाटको १४.५ मेगावाट विद्युत् भारत निर्यात हुनेछ ।

वर्षातसँगै नदीनालामा पानीको बहाव बढेर विद्युत गृह पूणर् क्षमतामा चल्न थालेपछि आन्तरिकरुपमा खपत गरी अतिरिक्त भएको ऊर्जालाई प्राधिकरणले भारत निर्यात गरेको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार रातिदेखि निर्यात शुरु विद्युतको औसत बिक्री मूल्य प्रतियुनिट ११.२ रुपैयाँ (७ भारु) रहेको बताए । ‘अधिकतम दर प्रतियुनिट १९ रुपैयाँ (१२ भारु), न्यूनतम २.३८ रुपैयाँ (१.४९ भारु) र औसत दर ११.२ रुपैयाँ (७ भारु) छ’, घिसिङले भने ।

आइएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युत्को कारोबार गरिन्छ । त्यसैले हरेक ब्ल्कको मूल्य फरक फरक हुने गरेको छ । प्राधिकरणका अनुसार बिहीबार निर्यात गरिएको विद्युत्को अधिकतम र न्यूनतम मूल्य प्रतियुनिट क्रमशः भारु १२ (१९.२ नेरु) र २.४९ (३.९८नेरु) छ । त्यस दिनको औसत मूल्य प्रतियुनिट भारु ६.७२ (१०. ७६ नेरु) छ ।

यसैगरी, शनिबार प्राधिकरणले अधिकतम प्रतियुनिट मूल्य १९.२ रुपैयाँ (१२ भारु) र न्यूनतम ४.०८ रुपैयाँ (२.५५ भारु)मा विद्युत् बिक्री गरेको छ । औसतम मूल्य ११.४८ रुपैयाँ (७.१८ भारु) रहेको छ । नेपालले भारतीय भारतीय ऊर्जा एक्सचेञ्ज मार्केटमा प्रतिस्पर्धी दरमा ३६४ मेगावाटसम्म विद्युत् बिक्री गर्न अनुमति पाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७