प्रधानमन्त्री देउवाका ज्वाइँलाई बढुवा गर्न प्रहरी नियमावली नै संशोधन


९ श्रावण २०७९, सोमबार
Dipendra Kuwar

काठमाडौं : सशस्त्र प्रहरी नियमावली-२०७२ को नियम ४० अनुसार प्रहरी उपरीक्षक (एसपी) बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा हुनका लागि एसपीमा ४ वर्ष सेवा गरेको हुनुपर्ने प्रावधान छ ।

सशस्त्र प्रहरी नियमावली-२०७२ को नियम ४० मा भनिएको छ, ‘सशस्त्र प्रहरी सेवामा बढुवाका लागि सम्भाव्य उम्मेदवार हुन बढुवा हुने श्रेणी वा तह भन्दा एक तह मुनिको पदमा चार वर्ष सेवा अवधि पूरा भएको हुनुपर्नेछ ।’

सरकारले गत ४ असार २०७९ मा एकाएक नियमावली संशोधन गरेर चार वर्ष सेवा अवधि पूरा भएको हुनु पर्नेलाई तीन वर्ष मात्रै भए पुग्ने प्रावधान बनायो ।

APF

नियमावली संशोधनको कारण थियो, एसपी दीपेन्द्र कुँवर । कुँवर प्रधानमन्त्री देउवाका स्वकीय सचिव तथा भतिजा भानु देउवाका साख्खै बहिनी ज्वाइँ हुन् । भानु प्रधानमन्त्री देउवाका साख्खैँ भतिजा । अर्थात् एसपी कुँवर प्रधानमन्त्री देउवाको छोरी ज्वाइँ । उक्त प्रावधानका कारण ज्वाइँ कुँवरको बढुवामा बाधक देखिएपछि रातारात संशोधन गरियो ।

कुँवर २०५९८ चैत ७ गते सशस्त्र प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन् ।

शुक्रबार बसेको बढुवा समितिको बैठकले १४ जनालाई प्रहरी उपरीक्षक (एसपी) बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गर्ने निर्णय गरेको गर्यो । एक नम्बरमा बढुवा भए प्रविण कँडेल । दोस्रोमा उनै ज्वाइँ कुँवर ।

हाल १ नम्बरमा बढुवा भएका कँडेल नेपाल प्रहरीबाट स्थान्तरण भएर आएका अधिकृत हुन् । त्यसअर्थ कुँवर दोस्रो नम्बरमा बढुवा सिफारिस भए पनि आफ्ना ब्याचीहरूमा भने पहिलो नम्बरमा भए ।

कुँवर कायममुकायम एसएसपी र एसपी हुँदा ११ नम्बरमा थिए । सशस्त्र प्रहरी निरीक्षकका रुपमा भर्ना हुँदा पनि उनी ७५ जनामा अन्तिम पाँचमा थिए ।

कुँवरपछि विष्णुप्रसाद भट्ट, दिगविजय सुवेदी, विश्वकुमार भट्टराई, भुपेन्द्र केसी र कमलप्रसाद तिउसिना बढुवा सिफारिसमा परे । यसैगरी नीरकृष्ण अधिकारी सुधीरजंग थापा, किरण बस्नेत, माधवप्रसाद पौडेल, उद्धवबहादुर न्यौपाने, राजेन्द्र खड्का, नरेन्द्र सेन, किरण ढुंगाना र शंकर खनाल बढुवा सिफारिस भए ।

जहिल्यै अवसर
उनी जहिल्यै अवसर पाउने अधिकृत हुन् । डीएसपी हुँदा कञ्चनपुरको गड्डाचौकी र रसुवाको गुल्ममा गुल्मपति भएर बसेका थिए । शैलेन्द्र खनाल आईजीपी हुँदा उनी दुई पटक शान्ति मिसन गए ।

अब डीआईजी
हाल सशस्त्र प्रहरी बलमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) को तीन दरबन्दी रिक्त छ । त्यसमा कुँवरलाई बढुवा गर्ने गरी हाल एसएसपीमा पहिलो नम्बरमा राखिएको बताइन्छ ।

सशस्त्र प्रहरीको डीआईजीमा बढुवा हुनका लागि स्टाफ कलेज पास गर्नुपर्ने हुन्छ । तर कुँवर भने स्टाफ कलेजको प्रवेश परीक्षामै दुई पटकसम्म फेल भएका थिए।

उनै कुँवरलाई स्टाफ कलेज पास गर्नका लागि गत वर्ष त्रिभुवन विश्वविद्यालयको उपस्थितिबिनै परीक्षा लिएर पास गराइएको थियो । स्रोतका अनुसार उनलाई १ नम्बरमा राखेर भावी आईजीपीको रुपमा तयार गरिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७