राम कार्कीको नजरमा प्रदीप गिरि : ज्ञानका भोकाहरूका लागि एउटा भरोसा


१० भाद्र २०७९, शुक्रबार
Ram karki

प्रदीप गिरि मानवतावादी दृष्टिकोण अख्तियार गरेका प्रबुद्ध नेपाली हुनुहुन्थ्यो। नेपालमा आलोचनात्मक चेत भएका असाध्यै कम मान्छे मध्ये एक हुनुहुन्थ्यो, प्रदीप गिरि। उहाँलाई माथिल्लो स्तरमा पुर्‍याउने प्रमुख तत्व नै उहाँको आलोचनात्मक चेत हो। उहाँ व्यवहारवादी हुनुहुन्न थियो। कतिपय अवस्थामा धेरै ठूला भनिएका राजनीतिज्ञहरू पनि व्यवहारवादी र आफ्नो आवश्यकता अनुसार सिद्धान्तमा तलमाथि गर्नेखालका हुने गर्छन्।

प्रदीप गिरि युवा हुँदा उहाँका कमजोरी देखेर वा इर्षावश वा विपीको सामिप्यताका कारण पनि उहाँप्रति थुप्रै सकारात्मक र नकारात्मक टिप्पणी हुने गर्दथ्यो। तर प्रदीप गिरि आफ्नो कर्मले  राजनीतिबाट माथि उठ्नुभएको थियो।

उहाँ नेपालका सन्त नेता भनिएका केपी भट्टराईको नजिक हुनुहुन्थ्यो भने उहाँमा भारतका समाजवादी डा. राममनोहर लोहियाको प्रभाव थियो। लोहियाको किताब ‘ह्विल अफ हिस्ट्री’ विश्वको समाजवादी आन्दोलनमा नै पठनीय सामग्रीको रुपमा लिइन्छ। जयप्रकाश आचार्य, नरेन्द्र देव र लोहिया आदिमध्ये खासगरी लोहियासँगको सामिप्यताले पनि होला एउटा मझौला खालको जमिन्दार र परिवारमा जन्मिएर पनि उहाँले जीवनभर सादगीलाई नै आफ्नो जीवनचर्या बनाउनुभयो।

pradip giri 1

आलोचनात्मक चेतका धनी
उहाँका केही खास विशेषता छन्, जसले उहाँलाई यो उचाईमा पुर्‍यायो। प्रदीप गिरिमा भएको सबैभन्दा महत्वपूर्ण विशेषता उहाँको आलोचनात्मक चेत हो। उहाँको आफ्नै पार्टी, आफूले ठूलो आदर्शको रुपमा मानेका लोहिया र विपी कोइरालाप्रति पनि उहाँका टिप्पणीहरू आलोचनात्मक छन्।

यस्तै, उहाँले माओवादी आन्दोलनलाई आतंकवादी क्रियाकलापको रुपमा कहिल्यै लिनुभएन। कांग्रेसका अधिकांश नेता र एमालेका नेताले समेत यसलाई आतंकवादी भनिरहेको अवस्थामा उहाँले भने अलिकति अतिवादी चिन्तन भएका युवाहरूले चलाएको राजनीतिक आन्दोलनका रुपमा लिनुभएको थियो। माओवादी आन्दोलनलाई दक्षिण एसियामा राजनीतिक आन्दोलनको रुपमा मान्यता दिलाउनका लाागि प्रदीप गिरि र दुर्गा सुवेदीहरूले खेलेको भूमिका अहिले पनि बाहिर आइसकेको छैन।

प्रदीप गिरि र दुर्गा सुवेदीहरूले भारतका समाजवादी नेताहरू शरद यादव, रामविलास पासवान लगायत बौद्धिक काम गरिरहेका समाजवादीहरूसँग मलाई लगेर भेट गराउनुभएको थियो। त्यसक्रममा उहाँले माओवादी आन्दोलन राजनीतिक भएकाले यसलाई राजनीतिक तरिकाले डिल गर्नुपर्ने कुरा राख्नुभएको थियो। प्रदीप गिरिको दृष्टिकोणको व्यापकता र बौद्धिकता त उहाँको लेखन र वाचनमा हामी प्रशस्त पाउँछौँ।

अर्को महत्वपूर्ण कुरा उहाँ जहिले पनि परिवेशलाई आलोचना गर्नुहुन्थ्यो। जब उहाँ मार्क्सको चर्चा गर्नुहुन्छ, मार्क्सले काम गरिरहेका बेला उहाँसँग प्रतिस्पर्धा गर्ने प्रतिद्वन्द्वी को थिए, कस्तो प्रकारको इन्टेलेक्चुअल भूमिमा मार्क्सले काम गरिरहेका थिए र स्वयम् व्यक्ति कस्ता थिए, उनको पारिवारिक स्थिति कस्तो थियो लगायत विषयलाई केलाउने काम उहाँले गर्नुहुन्थ्यो।

आफूले बौद्धिक रुपमा स्वीकार गरेका मार्क्स, लेनिन र ट्रस्त्स्कीको बौद्धिकताप्रति उहाँ असाध्यै विनम्र हुनुहुन्थ्यो। इतिहासका महान् हस्तिहरूको चर्चा गर्दा पनि आलोचनात्मक बनिरहनु हुन्थ्यो भने उहाँ परिवेशलाई पनि स्पष्ट पार्ने काम गर्नु हुन्थ्यो। जस्तैः लेनिनको किताब ‘ह्वाट इज टू बी डन’ सबैले पढेका छन्, तर लेनिनले कुन परिस्थितिमा कस्ता पात्रहरूसँगको विवादमा त्यो लेखे भन्ने कुरा प्रदीप गिरिले स्पष्ट पार्नुहुन्थ्यो र त्यसपछि मात्रै उहाँ त्यो लेखमा पस्नुहुन्थ्यो।

यस हिसाबले हामी सबै ज्ञानका भोकाहरूका लागि उहाँ एउटा आड बनिरहनुभएको थियो। कमसेकम हाम्रो पछाडि कोही त छ भन्ने भावना उहाँप्रति राख्न सकिन्थ्यो। व्यक्तिगत रुपमा भन्नुपर्दा उहाँले मलाई धेरै स्नेह दिनुभयो। दुर्गा दाइ, सुशिला दिदी र प्रदीप गिरिहरूको स्नेह मैले जिन्दगीभर प्राप्त गरेँ। उहाँको मृत्युका कारण व्यक्तिगत रुपमा पनि मैले ठूलो नोक्सान व्यहोर्नुपरेको छ। मैले भरोसा गर्न सक्ने र मलाई स्नेह दिने व्यक्ति गुमाएँ भन्ने लागेको छ।

उहाँलाई कसैले निकाल्न सक्दैन थियो
कांग्रेस जहिले पनि ‘मास बेस्ड’ पार्टी रह्यो। तर यति हुँदा पनि उहाँलाई कांग्रेसले नियन्त्रण गर्न सक्दैन थियो। किनभने उहाँलाई नियन्त्रण गर्न सक्ने बौद्धिक क्षमता भएका भएका विपी कोइरालाहरू त बितिसक्नुभएको थियो। आफूभन्दा अग्रज भनेर आदर गर्ने केपी भट्टराईरूको त उहाँ प्यारो मान्छे हुनुहुन्थ्यो। त्यसैले उहाँले आफूले दृष्टिकोण राखेको आधारमा मात्रै कांग्रेसबाट बाहिर निकाल्न सम्भव थिएन।

यसका कारणहरूमा उहाँको पृष्ठभूमि र उहाँका केही एड्भान्टेज पनि थिए। उहाँलाई शिक्षा दिक्षा लिनका लागि र बनारसमा गएर पढ्न कहिले आर्थिक कठिनाई भएन। उहाँलाई कहिल्यै परिचयको संकट भएन। उहाँका बाबा नै कांग्रेसका जिल्ला सभापति भइसक्नुभएको थियो भने काकाहरू पनि राजनीतिमा सक्रिय हुनुहुन्थ्यो। उहाँले बा र काकाहरूको परिचयको छायाँमा बाँच्नु भन्दा आफ्नो बेग्लै परिचयमा आउन अगाडि बढ्नुभयो। त्यसो हुनाले उहाँको बौद्धिकता, उहाँको अध्ययन र उहाँको मित्रको ठूलो संख्या आदि कारणले गर्दा कांग्रेसले उहाँलाई नियन्त्रण गर्न सक्दैन थियो।

वामपन्थी कि दक्षिणपन्थी?
प्रदीप गिरि नेपालको निम्ति अर्गानिक सिद्धान्त विकास गर्न प्रयासरत मान्छे हुनुहुन्थ्यो। मार्क्समाथि हजारौँ किताबहरू लेखिए होलान्, मार्क्सले ल्याएको अतिरिक्त मूल्यको सिद्धान्तमाथि हजारौँ किताब लेखियो, तर त्यसको खण्डन भएको छैन र हुँदैन पनि। यी कुराहरू राम्रोसँग बुझ्नु भएका गिरीको मार्क्सवादप्रति पनि आस्था थियो।

यस्तै गान्धीको काम गर्ने तरिका, गान्धीको स्वराज आन्दोलन, गाउँ केन्द्रित कामहरू र माओत्सेतुङको चिनियाँ अर्गानिक क्रान्तिबाट पनि प्रदीप गिरि धेरै शिक्षित हुनुहुन्थ्यो। नेपालको निम्ति एउटा बेग्लै खालको समाजवाद विकसित गर्नुपर्छ भन्ने उहाँको थ्योरी थियो।

कुनै देवीदेवताप्रति आस्था थिएन
जनताको मुक्ति प्रतिको प्रतिबद्धता र यसको कार्यान्वयन हुनु नै प्रदीप गिरिप्रतिको श्रद्धा हो। पछिल्लो कालमा पर्यावरणमा आइरहेका समस्याप्रति पनि उहाँ सजग हुनुहुन्थ्यो। मुख्य रुपमा मान्छेको मुक्ति चाहने एउटा असल नेताका रुपमा उहँलाई सम्झनुपर्छ।

सबै मान्छेमा कमिकमजोरी हुन्छन् र उहाँका पनि केही कमजोरीहरू थिए। उहाँ बेला न कुबेला रिसाउनुहुन्थ्यो। जसले गर्दा नजिकै बसेर काम गर्ने मान्छेलाई गाह्रो हुन्थ्यो। किनभने उहाँँको दिनचर्या कहिलेपनि एउटा अनुशासनमा बाँधिएको हुँदैन थियो।

मैले नजिकबाट उहाँलाई चिन्दा उहाँको व्यक्तिगत जीवन बढी स्वच्छन्दतावादी र बढी अराजक जस्तो देखिनुमा उहाँको पहिलाको प्रेम सम्बन्ध र त्यो प्रेम सम्बन्धमा आएको बिछोडले पारेको प्रभाव जस्तो लाग्छ। म उहाँसँग यो विषयमा कुरा पनि गर्थेँ। कांग्रेसका र उहाँसँग नजिकका धेरै साथीलाई थाहा छ कि हामी भेट हुँदा धेरैबेरसम्म कुराकानी गरेर बस्ने गर्थ्यौं।  मलाई सधैँ त्यो प्रकारको स्नेह प्राप्त हुन्थ्यो। म सबै कुरा उहाँलाई सोध्न सक्थे।

स्वभाविक रुपमा एउटा अराजकतावादको सिंहाशनसम्म पुगेर उहाँले स्वतन्त्रताको पक्ष लिनुहुन्थ्यो। महिला मुक्तिको प्रश्नमा उहाँसँग अरुलाई तुलना गर्न सकिँदैन। किनभने धेरै हाम्रा साथी तथा जानकारहरूको जीवन र व्यवहारमा पितृसत्तात्मक सोच देखिन्छ, उहाँ त्यसभन्दा अगाडि बढेको हुनुहुन्थ्यो। युरोपको इन्लाइटन्मेन्टबाट राम्ररी परिचित र मार्क्सवादी आन्दोलनमा रोजा लक्जेम्वर्ग, क्लारा जेट्किन लगायत मार्क्सवाद र यो वरिपरिका विचारको राम्रो अध्ययन गरेकाले उहाँ आधा मार्क्सवाद र त्यसमा आधा ब्राह्मण धर्म मिसाउने अचकल्टाहरू भन्दा फरक हुनुहुन्थ्यो।

उहाँको मार्क्सवादमाथिको अध्ययनबाट बुझ्न सकिन्छ कि उहाँलाई अनुष्ठान वा कुनै देवीदेवताप्रति लगाव थिएन। उहाँको मृत्युबाट मलाई व्यक्तिगत रुपमा चोट परेकाले उहाँको बारेमा म अहिले  यो भन्दा धेरै भन्न सक्दिनँ।

(कांग्रेस नेता एंव समाजवादी चिन्तक प्रदीप गिरिको निधनपछि उनको बारेमा माओवादी केन्द्रका नेता राम कार्कीसँग प्रकाश अजातले नेपाल रिर्डसका लागि गरेको कुराकानीमा आधारित)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७