राष्ट्रपति भण्डारीद्वारा ६ विधेयक प्रमाणीकरण, नागरिकता विधेयकबारे ‘मौन’


२९ भाद्र २०७९, बुधबार
bidhya devi

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न विषयका ६ वटा विधेयक प्रमाणीकरण गरेकी छिन् । आज (बुधबार) बसेको प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयले पठाएको पत्र पढेर सुनाउँदै सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति भण्डारीले खानेपानी तथा सरसफाइ ऐन, २०७९, तथ्यांकसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, स्ट्यान्डर्ड नाप र तौल ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक, प्रत्यायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सार्वजनिक पदधारण गर्ने व्यक्तिको सपथ व्यवस्था गर्न बनेको विधेयक र योगमाया आयुर्वेद विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेको बताएका हुन् ।

संघीय संसद्को दुवै सदनबाट पारित भई राष्ट्रपति भण्डारी समक्ष पठाइएको ती विधेयकहरू नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयले पठाएको पत्रमा उल्लेख गरिएको पनि सभामुख सापकोटाले बताए । नागरिकता विधेयकबारे भने राष्ट्रपति भण्डारी मौन रहेकी छन् ।

संसदको दुवै सदनले पहिलो पटक पारित गरेर प्रमाणीकरणको लागि पठाएको सो विधेयकलाई राष्ट्रपतिले सुझावसहित पुनर्विचारका लागि प्रतिनिधिसभामा पठाएकी थिइन् । तर, पुनः संसदको दुवै सदनले सो विधेयक जस्ताको तस्तै पास गरी प्रमाणीकरणका लागि दोस्रो पटक राष्ट्रपति कार्यालयमा पठाइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७