तातोपानी नाका खोल्न चीन सकारात्मक, नेपालमा बढ्दै उत्साह


२७ चैत्र २०७४, मंगलवार
Tatopani naka

काठमाडौं, २७ चैत : भूकम्पले तातोपानी क्षेत्रमा दुई देशबीचको सीमा जोड्ने ’मितेरी पुल’ मा समेत क्षति पुर्‍याएको बताइएको छ ।Tatopani naka

तातोपानी क्षेत्रमा चिनियाँ पक्षले सुक्खा बन्दरगाह निर्माण थालेपछि २०७२ सालको भूकम्पपछि बन्द त्यो नाका अब छिट्टै खुल्ने आशा नेपाली अधिकारीहरूले व्यक्त गरेका छन् । नेपालको एक उत्तरी सीमा नाका तातोपानी क्षेत्रमा चिनियाँ पक्षले सुक्खा बन्दरगाह निर्माणको काम थालेसँगै नेपाली अधिकारीहरू ‘अब तातोपानी नाका छिट्टै खुल्ने छ’ भन्ने अपेक्षाका साथ उत्साहित भएका छन् ।

२०७२ सालको भूकम्पले नराम्रो क्षति पुगेपछि तिब्बतको खासा बजार जोड्ने तातोपानी नाका बन्द हुन पुगेको हो । फलस्वरूप त्यसक्षेत्रबाट वर्षौंदेखि हुने गरेको हिमालय सीमापार व्यापार व्यवसाय ठप्प हुन पुग्यो । अहिले तातोपानी क्षेत्रमा पूर्वाधार पुनर्निर्माणको काम शुरू भए पनि उक्त व्यापारिक नाका खोल्ने विषयमा चिनियाँ अधिकारीहरूले औपचारिक जानकारी गराइसकेका छैनन् ।

चिनियाँ पक्षले अहिले तीन वर्षदेखि रोकिएको तातोपानी स्थित लार्चामा रहेको सुक्खा बन्दरगाह निर्माणको काम थालेको छ । सांसद अग्नि सापकोटाले त्यहाँ भइरहेका कामको निरीक्षण गरेका छन् । उनले भने, ‘खासातिर पनि बाटो सुधारको, बाटो निर्माणको काम तीव्र गतिमा भइरहेको छ । बन्दरगाह पनि बनिरहेको छ । बाह«बीसेदेखि तातोपानीसम्मको सडक खण्डको कामको लागि पनि मन्त्रालयमा सम्झौता भइसकेको छ ।’

उनले समय नतोके पनि ‘ढिलो या चाँडो’ नाका भने खुल्ने बताए । चिनियाँ सहयोगमा बन्दरगाहको काम थालिनुका साथै चिनियाँ क्षेत्रमा सुरक्षा चौकी र बाटो निर्माण गरिनुलाई नाका खुल्ने महत्त्वपूर्ण संकेत भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी असमान तामाङको भनाइ छ । चीनबाट सामग्री ढुवानी गर्ने मुख्य नाका भएपनि भूकम्पले निकै क्षति पुगेपछि चिनियाँ पक्षले आफ्नो ध्यान रसुवाको केरूङ नाकातर्फ केन्द्रित गर्न पुग्यो । फलस्वरूप तातोपानी क्षेत्रका व्यवसायी र तीनमा आश्रित व्यक्ति विस्थापित हुन पुगे ।

भूकम्पको जोखिम भन्दै तिब्बतपट्टिको खासा बजारको बस्ती समेत चीनले हटाएपछि सो नाका सदाको लागि बन्द हुने हो कि भन्ने चिन्ताहरू व्यक्त भएका थिए । तर हालै दुई देशबीच सीमानाकाहरूको स्तरोन्नति गर्ने विषयमा सहमति भएपछि चिनियाँ पक्ष सक्रिय भएको बताइएको छ । तातोपानी नाका पुग्ने मुख्य मार्ग बाह्रबिसेदेखि तातोपानीसम्मको सडक निर्माणमा दुई देश सहमत भइसकेको बताउँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नाका चाँडै खुल्ने संकेत गरे ।

उनले भने, ‘चिनियाँ पक्षसँगको हाम्रो भेटमा पनि हामीले नाका खोल्ने विषयमा अनुरोध गरेका थियौँ। यसपालि उनीहरू अलि गम्भीर भएको देखिन्छ ।’ चीनबाट स्थलमार्ग हुँदै सामग्री ढुवानी हुने मुख्य व्यापारिक मार्ग तातोपानी सञ्चालनमा नआउँदा नेपाली व्यापारीहरूले रसुवाको केरूङ तथा लामो समुद्री मार्ग हुँदै भारतको कोलकाताबाट सामान ढुवानी गर्न बाध्य भएको व्यवसायीहरू बताउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७