चुनाव प्रचारको आज अन्तिम दिन : शीर्ष नेताहरुले कहाँ–कहाँ गर्दैछन् सम्वोधन ?


१ मंसिर २०७९, बिहीबार
Gathabandhan

काठमाडौं । मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रचार प्रसारको समय आज (बिहीबार) राति १२ बजेदेखि सकिंदैछ । आज राति १२ बजेदेखि ‘स्थिर अवधि’ शुरु हुने भएकाले सबैजसो दलहरुले आज चुनाव प्रचार–प्रसारको अन्तिम सभा गर्दैछन् ।

सत्तारुढ गठबन्धनले आज काठमाडौंमा बृहत् चुनावी सभा गर्दैछ । गठबन्धनको काठमाडौं क्षेत्र नम्बर–२ चुनाव परिचालन समितिको आयोजनामा दिउँसो २ बजे कोटेश्वरमा अन्तिम चुनावी सभा हुन लागेको हो । सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस महामन्त्री गगन थापा, गठबन्धनबाट क्षेत्र नम्बर–२ को साझा उम्मेदवार पूर्वसभामुख ओनसरी घर्तीलगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

४ मंसिरमा हुने निर्वाचनका लागि काठमाडौं–२ मा गठबन्धनबाट पूर्व सभामुख एवं माओवादी केन्द्रकी स्थायी समिति सदस्य घर्ती, प्रदेशसभा (क) मा कांग्रेसका ध्रुव केसी र प्रदेशसभा (ख) मा एकीकृत समाजवादीका भरतप्रसाद फुयाँल उम्मेदवार छन् ।
चुनावी प्रचारकै क्रममा गृह जिल्ला झापामा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आज (बिहीबार) झापामा आयोजना हुने दुई सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । अध्यक्ष ओलीले झापा निर्वाचन क्षेत्र नम्बर १ को काँकडभिट्टा र निर्वाचन क्षेत्र नम्बर ५ को खजुरगाछीमा आयोजना गरिने चुनावी सभालाई सम्बोधन गर्नेछन् ।

त्यसैगरी सुदूरपश्चिममा रहेका प्रधानमन्त्री एवंम कांग्रेस सभापति शेरबहादुर देउवाले पनि सुदूरपश्चिमका दुईवटा चुनावीसभामा सहभागिता जनाउने भएका छन् । उनले आज अछाम र कञ्चनपुरका चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
बिहीबार मध्यरातबाट मौन अवधि शुरु हुँदैछ ।

मंसिर ४ को निर्वाचनका लागि त्यो समयमा चुनाव प्रचार–प्रसार गर्न र मतदातालाई प्रभावित पार्ने कुनै पनि गतिविधि गर्न पाइँदैन । निर्वाचन आचार संहिता–२०७९ अनुसार चुनाव हुनुभन्दा ४८ घण्टा अगाडिबाट स्थिर समय लागू हुन्छ । मौन अवधिलाई यसपालिदेखि ‘स्थिर समय’ वा ‘शान्त समय’ भनेर आयोगले परिभाषित गरेको छ । आचारसंहिता उल्लंघन गरेर निर्वाचनमा धाँधली गरेको ठहर भएमा आयोगले उम्मेदवारीसम्म रद्द गर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७