बागमतीको निर्वाचन प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेस


२ पुष २०७९, शनिबार
Bagmati pradesh2022 12 17 02 59 19

हेटौंडा । निर्वाचन आयोगले आज शनिबार गत ४ मंसिरमा सम्पन्न बागमती प्रदेश सभाका निर्वाचित सदस्यहरूको विवरण बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष पेस गरेको छ ।

आयोगका सचिव गोकर्णमणि दवाडीले प्रदेश सभा सदस्य निर्वाचन ऐन २०७४ दफा ६२ अनुसार प्रदेश प्रमुख शर्मा समक्ष बागमती प्रदेश सभाका लागि निर्वाचित सदस्यहरुको विवरणसहितको प्रतिवेदन पेश गरेका हुन् ।

आयोगको प्रतिवेदन अनुसार गत ४ मंसिरमा सम्पन्न आमनिर्वाचनमा बागमती प्रदेश सभाका लागि प्रत्यक्षतर्फ निर्वाचित ६६ र समानुपातिकतर्फ ४४ गरी कुल ११० सदस्य निर्वाचित भएका छन् भने प्रदेश सभामा ७ वटा दलको प्रतिनिधित्व छ ।

यस्तै ११० जना निर्वाचित सदस्यमध्ये पुरुष ७० जना (६३ दशमलव ६३ प्रतिशत) र महिला ४० जना (३६ दशमलव ३७ प्रतिशत) निर्वाचित भएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिवेदन अनुसार बागमती प्रदेश सभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ३५ र समानुपातिक निर्वाचन प्रणालीतर्फ ४० राजनीतिक दल निर्वाचनमा सहभागी भएको मध्ये प्रत्यक्षतर्फ पुरुष ५८८ र महिला ८० गरी कूल ६६८ जनाको अन्तिम उम्मेदवारी कायम भएको थियो भने समानुपातिक तर्फ कूल ७५४ जना उम्मेदवारको अन्तिम बन्द सूची कायम गरिएको थियो ।

उक्त प्रतिवेदनमा प्रदेशमा महिला १७ लाख ३३ हजार ३७८, पुरुष १७ लाख ३८ हजार ८७ र अन्य २७ गरी कूल ३४ लाख ७१ हजार ४९२ मतदाता कायम थिए। प्रत्यक्ष तर्फ २१ लाख ४ हजार ५७८ (६० दशमलव ६२ प्रतिशत) मतदान भएकोमा ७६ हजार ९३८ (३ दशमलव ६६) प्रतिशत मत बदर भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यस्तै समानुपातिक निर्वाचनमा २० लाख ९९ हजार १०७ (६० दशमलव ४७ प्रतिशत) मतदान भएकोमा १ लाख २५ हजार ६३३ (५ दशमलव ९९ प्रतिशत) मत बदर भएको थियो । बागमती प्रदेशमा ३३ वटा राजनीतिक दलको धरौटी जफत भएको प्रतिवेदनमा उल्लेख छ । प्रदेशमा १० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने पुरुष उम्मेदवार ४१७ र महिला उम्मेदवार ६७ जना गरी कूल ४८४ जनाको धरौटी जफत भयो ।

प्र्रदेश प्रमुख शर्माले आयोगको प्रतिवेदन बुझेसँगै बागमती प्रदेश सभाको औपचारिक कार्यक्रम र सरकार निर्माणको बाटो खुल्ला भएको छ । प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख शर्माले आयोगलाई निष्पक्ष र शान्तिपूर्ण रुपमा एकैपटक निर्वाचन सम्पन्न गर्न सफल भएको भन्दै धन्यवाद दिएका छन् । यस्तै, प्रदेश प्रमुख शर्माले बागमती प्रदेश सभामा निर्वाचित भएका प्रदेश सदस्यहरुलाई बधाई दिँदै जनताको अपेक्षा पूरा गर्नेगरी काम गर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७