देउवालाई प्रचण्डले भने, ‘प्रधानमन्त्री म बन्छु, सहयोग गर्नुस्’


२ पुष २०७९, शनिबार
prachanda deuwa 1
फाइल फोटो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष गठबन्धनका तर्फबाट आफूलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका छन् ।

आज (शनिबार) प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा अध्यक्ष प्रचण्डले सो प्रस्ताव राखेका हुन् । अध्यक्ष प्रचण्डले गठबन्धनकै सहयोगमा प्रधानमन्त्री भएर निर्वाचन सम्पन्न गराएको र गठबन्धन नेतृत्व सरकारको कार्यकाल सफल रहेको भन्दै अब बन्ने नयाँ सरकारको नेतृत्वका लागि सहयोग गर्न आग्रह गरेको जनाइएको छ ।

प्रचण्डले प्रधानमन्त्रीमा यसरी सहयोग गर्न देउवा समक्ष औपचारिक रुपमा भनेको यो पहिलो पटक हो । यसअघि प्रचण्डले विभिन्न औपचारिक मञ्चहरूमा प्रधानमन्त्रीमा आफ्नो दावी गर्दै आएका थिए । आजको भेटमा भने प्रधानमन्त्री समक्ष प्रस्ताव नै राखेको बताइएको छ । जवाफमा प्रधानमन्त्री देउवाले गठबन्धनमा यो विषयमा छलफल गर्ने भनि जवाफ दिएको स्रोतले जनाएको छ । ‘गठबन्धनमा जे सहमति हुन्छ त्यो अनुसार अगाडि बढ्न आफू तयार रहेको धारणा प्रधानमन्त्री देउवाले राख्नु भयो’ स्रोतले भन्यो ।

प्रधानमन्त्री देउवाले पनि अगामी सरकारको नेतृत्व आफूले नै गर्ने भनि संकेत गर्दै आइरहेका छन् । उनले औपचारिक रुपमा कतै यो विषयमा धारणा नराखे पनि आफ्ना निकट नेताहरूसँग यो अन्तिम पटक आफूले सरकारको नेतृत्व गर्न पाउनुपर्ने बताउँदै आएका छन् । काँग्रेसभित्रै महासचिव गगन थापाले पनि प्रधानमन्त्रीका लागि दावी गर्दै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७