आज ‘क्रिसमस डे’ मनाइँदै, सार्वजनिक बिदा

‘क्रिसमस डे’ ले आपसी सद्भाव बढाउन सहयोग पुग्ने राष्ट्रपतिको विश्वास


१० पुष २०७९, आईतवार
christmas

काठमाडौं । आज क्रिसमस डे । हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशीयाली मनाउन परम्पराअनुसार नेपालसहित संसारभरका क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउँदै छन् ।

२००० वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्‍याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।
क्रिसमस डेका अवसरमा सरकारले सम्बन्धित धर्मालम्बीहरूलाई आज (आइतबार) सार्वजनिक बिदा समेत दिएको छ ।

‘ख्रीष्टमस’ पनि भनिने यस अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ । क्रिसमस डेमा येशुको शिक्षा एवं उपदेशको मनन गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ ।

यस अवसरमा राष्ट्रिय ख्रिष्टियन महासंघले विभिन्न कार्यक्रम आयोजना गरेको छ । क्रिसमसका अवसरमा काठमाडौंको ठमेल, बौद्ध, ललितपुर, भक्तपुर, पोखरालगायत स्थानमा विशेष रौनक छ । क्रिसमस ट्रीलगायतले बजार र ठूला व्यापारिकस्थल सजाइएको छ । नेपालमा चार सय वर्ष अघिबाट क्रिसमस मनाउन थालिएको राष्ट्रिय ख्रिष्टियन महासंघका पदाधिकारीहरु बताउँछन् ।

‘क्रिसमस डे’ ले आपसी सद्भाव बढाउन सहयोग पुग्ने राष्ट्रपतिको विश्वास
राष्ट्रपति विद्यादेवी भण्डारीले क्रिसमस डे, २०२२ को अवसरमा शुभकामना सन्देश जारी गरेकी छन् । उनले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बीमा सुख, शान्ति एवं सुस्वास्थ्यको लागि हार्दिक शुभकामना व्यक्त गरेकी हुन् ।

इसाई धर्मावलम्बीद्वारा जिसस क्राइस्टको जन्मदिनको अवसरमा हरेक वर्ष डिसेम्बर २५ तारिखको दिनलाई धार्मिक एवं सांस्कृतिक उत्सवका रूपमा विभिन्न कार्यक्रमको आयोजना गरी क्रिसमस डे मनाउने गरिएको छ । यस अवसरमा काठमाडौं, ललितपुर, भक्तपुर र पोखरा लगायत देशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी यो पर्व मनाउने गरिएको छ ।

‘यस्ता चाडपर्वको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि हुनाका साथै राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको छु’, राष्ट्रपतिले शुभकामना सन्देशमा भनेकी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७