गठबन्धन जोगाउन सकस : प्रचण्ड फकाउन खुमलटार पुगे निधि


१० पुष २०७९, आईतवार
Prachanda bilalendra nidhi

काठमाडौं । नयाँ सरकार गठनको विषयलाई लिएर वर्तमान सत्ता गठबन्धन नै धरापमा परेको छ । नयाँ सरकार गठनमा पहिलो कार्यकालको प्रधानमन्त्री आफूले पाउनु पर्ने अडान माओवादी केन्द्रले लिएको छ । यता नेपाली कांग्रेसले पनि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाकै निरन्तरता हुनुपर्ने अडान कायम राखेको छ ।

नयाँ सरकारको पहिलो प्रधानमन्त्री आफैले पाउन पर्ने कांग्रेस र माओवादीको अडानका कारण सत्ता गठबन्धन नै धरापमा पर्दै गएको छ । नयाँ सरकारको पहिलो पटकको प्रधानमन्त्री नपाए अन्य विकल्पबारे सोच्ने प्रष्ट सन्देश दिएको नेकपा माओवादी केन्द्रलाई मनाउन नेपाली कांग्रेसले अन्तिम कसरत जारी राखेको छ । आज (आइतबार) बिहान कांग्रेस नेता विमलेन्द्र निधि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई फकाउन खुमलटार पुगेका छन् ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (२) अनुसार बहुमत पुर्‍याएर प्रधानमन्त्री दाबी गर्न आज ५ बजेसम्मको समय तोकेकी छन् । तर गठबन्धनको शनिबार बसेको बैठकमा कांग्रेस र माओवादी केन्द्रले सरकारको नेतृत्व पहिले आफूले गर्न पाउनुपर्ने दाबी दोहोर्‍याएकाले सहमति हुन सकेको छैन । भेटमा निधि र प्रचण्डबीच नयाँ सरकार गठन, सत्ता समीकरण र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । उनी द सभापति शेरबहादुर देउवाको सन्देश लिएर खुमलटार पुगेका हुन् ।

निधिले प्रचण्डलाई प्रधानमन्त्रीको दाबी छोड्न आग्रह गरेका छन् । उनले गठबन्धन जोगाएर अगाडि बढ्न आफ्नो दाबी छोडेर सहमतिमा आउन दबाब दिएका छन् । स्रोतले भन्यो, प्रचण्डले प्रधानमन्त्रीको दाबी नछोडेको खण्डमा नेपाली कांग्रेसले एमालेसँग सहकार्यका गर्ने जानकारी गराएका छन् ।

शनिबार माओवादी केन्द्रका उपमहासचिव बर्षमान पुनमार्फत प्रधानमन्त्री नदिए गठबन्धन छोड्ने धम्की दिएपछि नेपाली कांग्रेसले एमालेसँग संवाद अगाडि बढाएको छ । गठबन्धनको बैठकलगत्तै प्रधानमन्त्री देउवाले कांग्रेस नेता विमलेन्द्र निधिलाई शनिबार साँझ बालकोट पठाएका थिए ।

प्रधानमन्त्री बन्ने विषयलाई लिएर गठबन्धनभित्र भइरहेको खिचातानीका विषयमा निधिले अध्यक्ष केपी शर्मा ओलीसँग ब्रिफिङ गरेको स्रोतले बताएको छ । निधिले सम्भावित समीकरणका लागि एमालेसँग छलफल गर्न कांग्रेस तयार रहेको प्रधानमन्त्रीको सन्देशसमेत ओलीलाई सुनाएका थिए । उनीहरूबीच एमाले र कांग्रेसको सम्भावित सत्ता समीकरणबारे छलफल भएको स्रोतको दाबी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७