एक्सनमा अख्तियार : एकैदिनमा चार भ्रष्टचार मुद्दामा २८ जना विरुद्ध मुद्दा दायर

सडक नभएको ठाउँमा पुल बनाउने प्रदेश मन्त्रालयका सचिवदेखि रकम नगरपालिकाको विभिन्न योजनाहरु सम्झौता गरी कुनै पनि काम नगरी रकम गर्ने निमित्त प्रमुख प्रशासकीय अधिकृतसम्मलाई मुद्दा दायर


१४ फाल्गुन २०७९, आईतवार
Akhtiyar

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अलग–अलग चार भ्रष्टचार मुद्दामा ३० जना विरुद्ध मुद्दा दायर गरेको छ । सडक नभएको ठाउँमा पुल बनाउने प्रदेश मन्त्रालयका सचिवदेखि रकम नगरपालिकाको विभिन्न योजनाहरु सम्झौता गरी कुनै पनि काम नगरी रकम गर्ने निमित्त प्रमुख प्रशासकीय अधिकृतसम्मलाई अख्तियारले आइतबार मुद्दा दायर गरेको हो ।

सडक नभएको ठाउँमा पुल बनाउने विरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी प्रदेशको भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात मन्त्रालयका तत्कालीन सचिव ईश्वरचन्द्र मरहट्टासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । गोरखाको गोरखा नगरपालिका वडा नम्बर ३ जरेवरस्थित दरौदी नदीमाथि बाटो नभएको स्थानमा पुल बनाएर जनताको करको पैसा दुरुपयोग गरेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार उनीसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

Daraundi bridge
सडक नभएको ठाउँमा बनाइएको पुल

मरहट्टासहित भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको प्रदेश सडक निर्देशनालयका तत्कालीन निमित्त निर्देशक रामकुमार श्रेष्ठ र पूर्वाधार विकास कार्यालय गोरखाका सिनियर डिभिजनल इन्जिनियर ओमराज ढुङ्गानाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

गोरखा नगरपालिकाको जरेबरमा नारेश्वर जोड्ने गरी बनेको पक्की पुल दुवैतर्फ सडक नभएको ठाउँमा थियो । सडक नै नभएको ठाउँमा पुल बनाएर नागरिकले तिरेको करको दुरुपयोग गरेको भन्दै अख्तियारमा उजुरी परेपछि छानबिन अघि बढेको थियो ।
त्यस क्रममा भौतिक पूर्वधार मन्त्रालयका सचिव मरहट्टाले परामर्शदातासँग सम्झौतामा हुँदै नभएको कार्यक्रम विद्यमान कानून विपरीत थप गरेको, पुलको स्थान, नाम र डिजाइन परिवर्तन स्वीकृत गरेको पाइएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए । राज्यको सम्पत्ति औचित्य नभएको स्थानमा खर्च गर्न आफ्नो ओहदाको दुरुपयोग गरेको कार्य भ्रष्टाचार भएको अख्तियारको दाबी छ ।

‘राज्यको सम्पत्ति औचित्य नभएको स्थानमा खर्च गर्न आफ्नो ओहोदाको दुरुपयोग गरेर भ्रष्टाचार भएकोले’ अख्तियारको विज्ञप्तिमा भनिएको छ, ‘५ करोड ४५ लाख बिगो कायम गरी कैद र जरिवाना हुन अनि हानिनोक्सानी भएको बिगो मरहट्टाबाट असुल उपर हुन मागदाबी लिइएको छ ।’

अख्तियारले प्रदेश सडक निर्देशनालयका निमित्त निर्देशक रामकुमार श्रेष्ठमाथि गुरु योजना, ग्रामीण सडक, शहरी सडक वा कुनै रणनीतिक सडकमा नपर्ने काल्पनिक सडकको नाम दिई खोलामा पुल बनाइएको भन्दै उनीमाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले श्रेष्ठमाथि ५ लाख ७१ हजार विगो मागदाबी गरेको छ ।

हेर्नुहोस् अख्तियारको विज्ञप्ति

काम नगरी रकम हिनामिना गर्ने विरुद्ध मुद्दा दायर

यसैगरी आयोगले डोल्पा जिल्लाको ठुलीभेरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत केशव बहादुर सुनार, इन्जिनियर सहित ठुलीभेरी नगरपालिका वडा नं। ५,६, ७, ८ का तत्कालिन वडाध्यक्ष, निर्माण योजनाको अनुगमन समितिका पदाधिकारी र उपभोक्ता समितिका पदाधिकारीहरु विरुद्ध मुद्दा दायर गरेको छ ।

ठुलीभेरी नगरपालिकाका प्रमुखले ठुलीभेरी नगरपालिका वडा नं. १ देखि वडा नं. ११ सम्मका वडा अध्यक्षसँगको मिलेमतोमा आर्थिक वर्ष २०७४÷०७५ मा विनियोजन भएको रकम नगरपालिकाको विभिन्न योजनाहरु सम्झौता गरी कुनै पनि काम नगरी रकम हिनामिना गरेको भन्ने उजुरीको आधारमा अनुसन्धान गर्दा भ्रष्टचार गरेको पाइएको अख्तियारले जनाएको छ ।

हेर्नुहोस् अख्तियारको विज्ञप्ति

तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सुनार सहित तत्कालीन इन्जिनियर बसन्त रोकाया र तत्कालीन सवइन्जिनियर शिवराज शाहीलाई बिगो बाइस लाख उनाननब्बे हजार दुई सय पैसठ्ठी रुपैयाँ अठसठ्ठी पैसा कायम गरी मुद्दा दर्ता गरिएको छ ।

यसैगरी ठुलीभेरी नगरपालिका वडा नं. ८ स्थित घट्टदेखि तर्पुखोलासम्म सडक निर्माण योजनाको अनुगमन समितिका पदाधिकारीहरु कर्ण बहादुर रोकाया, काली सार्की, टोप बहादुर चन र ठुलीभेरी नगरपालिका वडा नं. ८ का तत्कालीन वडा अध्यक्ष हरि प्रसाद डाँगी विरुद्ध पनि मुद्दा दायर गरिएको छ । उनीहरुले वास्तविक कामभन्दा बढी काम भएको भनी भए गरेको कुरा लुकाईछिपाई वा नभए नगरेको कुरा देखाई गलत प्रतिवेदन पेश गरी सिफारिससमेतको आधारमा नगरपालिकाबाट उक्त योजनालाई २२ लाख ८९ हजार बढी भुक्तानी लिएका हुन् ।

यसैगरी ठुलीभेरी नगरपालिका डोल्पाबाट ठुलीभेरी नगरपालिका वडा नं. ८ स्थित घट्टदेखि तर्पुखोलासम्म सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष हर्क बहादुर डाँगी, कोषाध्यक्ष रेश्मा डाँगी र सचिव कर्ण चन्द्र डाँगी विरुद्ध पनि मुद्दा दायर गरिएको हो । उनीहरु विरुद्ध बाइस लाख उनाननब्बे हजार दुई सय पैसठ्ठी रुपैयाँ अठसठ्ठी पैसा बिगो कायम गरी मुद्दा दायर गरिएको हो ।

हेर्नुहोस् अख्तियारको विज्ञप्ति

यसैगरी ठुलीभेरी नगरपालिका वडा नं. ५,६ र ७ स्थित जुफाल–माझफाल मोटरबाटो निर्माण योजनाको अनुगमन समितिका पदाधिकारीहरु कर्ण बहादुर रोकाया, काली सार्की, टोप बहादुर चनले विरुद्ध पनि मुद्दा दायर गरिएको छ । यसैगरी जुफाल–माझफाल मोटरबाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष प्रचण्ड विक्रम शाही, कोषाध्यक्ष सुना कामी र सचिव टोप वहादुर शाही विरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

हेर्नुहोस् अख्तियारको विज्ञप्ति

यसैगरी ठुलीभेरी नगरपालिका वडा नं. ७ स्थित तलीकुला लादीछरा हुँदै जीउसम्म मोटरबाटो निर्माण योजनाको अनुगमन समितिका पदाधिकारीहरु कर्ण बहादुर रोकाया, काली सार्की, टोप बहादुर चन र ठुलीभेरी नगरपालिका वडा नं. ७ का तत्कालीन वडा अध्यक्ष डिल विक्रम शाहीले वास्तविक कामभन्दा बढी काम भएको भनी नभए नगरेको कुरा देखाई गलत प्रतिवेदन पेश गरेको भन्दै मुद्दा दायर गरिएको छ ।

यसैगरी ठुलीभेरी नगरपालिका वडा नं. ७ स्थित तलीकुला लादीछरा हुँदै जीउसम्म मोटरबाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष मानसिंह कामी, कोषाध्यक्ष राज कुमारी शाही र सचिव ज्ञानेन्द्र विक्रम शाही विरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७