मनाङमा फागुन मध्यसम्म पनि परेन हिउँ


१५ फाल्गुन २०७९, सोमबार
House old Manang

मनाङ । हिमाली जिल्ला मनाङमा हिउँद याम सकिन लाग्दासम्म पनि हिउँ परेको छैन । विगतका वर्षमा हिमपातले आवागमन नै अवरुद्ध हुने गरेकामा यस वर्ष भने आवश्यक मात्रामा पनि हिउँ नपरेर समस्या भएको छ ।

फागुनको मध्यसम्म आइपुग्दा आंशिक मात्र हिउँ परेको कार्यवाहक प्रमुख जिल्ला अधिकारी शिशिर घिमिरेले बताए । ‘डाँडा क्षेत्रमा हिउँ परेको देखिन्छ तर बजार क्षेत्रमा परेको छैन’, उनले भने । माथिल्लो मनाङमा आंशिक हिमपात भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का ओम बहादुर गुरुङले बताए । ‘विगतका वर्षमा हिउँले डाँडाकाँडा र भिरपाखा सेताम्मे ढाकिएका हुन्थे, तर यसवर्ष भने आंशिक मात्रामा देखिएको छ’, उनले भने ।

यहाँको माथिल्लो क्षेत्रमा हिमपात भए पनि तल्लो क्षेत्रमा हिमपात हुन सकेको छैन । यसको असर कृषि क्षेत्रमा परेको भन्दै कृषकहरु चिन्तित छन् । यहाँ फापर, करु, जौ, स्याउलगायत उत्पादन हुनेगरेकामा पर्याप्त पानी नपुग्दा उत्पादन घट्ने सम्भावना देखिएको ताचैका कृषक सोलबहादुर गुरुङले बताए । मनाङमा कात्तिकको अन्तिम सातादेखि हिमपात हुनुपर्नेमा हालसम्म हुन सकेको छैन । फागुन मध्यमा पुग्दासम्म पर्याप्त हिउँ नपरेपछि हिमाली तथा उच्च पहाडी क्षेत्रका कृषक उत्पादन घट्ने भन्दै चिन्तित छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७