उम्मेदवारी दर्तापछि पौडेलले भने, ‘बारा–२ मा एमालेले जित्ने संकेत देखियो’


२० चैत्र २०७९, सोमबार
purusottam poudel 1024x551 1

बारा । बारा–२ मा एमालेका तर्फबाट उम्मेदवारी दिएका पुरुषोत्तम पौडेलले एमालेलाई मुलुकको राष्ट्रिय शक्ति बनाउने मुख्य एजेण्डा रहेको बताएका छन् ।

आज (सोमबार) बारा–२ को उपनिर्वाचनका लागि आफ्नो उम्मेदवारी दर्तापछि सञ्चारकर्मीले सोधेको प्रश्नमा पौडेलले भने, ‘नेकपा एमालेलाई राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्ने मुख्य एजेण्डा हो ।’

अहिलेको उपनिर्वाचन भविष्यको रेखा रहेको भन्दै उनले २०४८ र ५६ मा पनि एमालेले जितेको बारा २ मा अहिले पनि जित्ने आधार र संकेत देखिएको दावी गरे । ‘बारा–२ ०४८ सालमा एमालेले जितेको क्षेत्र हो, ०५६ सालमा पार्टी फुट्दा पनि एमालेले जितेको क्षेत्र हो’, उनले भने, ‘अहिले फेरि जित्ने संकेत आएको छ । एमालेका कार्यकर्ता मात्रै हैन, न्यायप्रेमी जनता, मजदुर, किसान, महिला, दलित, मधेसी, मुस्लिम उत्पीडित वर्ग जाति एमालेको पक्षमा खडा छन् ।’

बारा– २ मा गठबन्धनले काम नगर्ने उनको भनाइ छ । ‘गठबन्धन नेताहरुबीचको हो । जनताको बीचको होइन’, उनले भने, ‘नेपाली जनता राष्ट्रियताको संरक्षण चाहन्छ, लोकतन्त्रको सुद्दृढीकरण, देशको विकास निर्माणको नेतृत्व चाहन्छ । एमाले यो गरेर देखाइसकेको छ । त्यसैले बारा–२ मा एमालेले जित्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७