मेसीको ह्याट्रिकसँगै बार्सिलोनाले जित्यो ला लिगा उपाधि
एजेन्सी,बैशाख १७: मेसीको ह्याट्रिकसँगै बार्सिलोनाले चार खेल अगावै स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको छ । सोमबार बिहानीपख भएको खेलमा डिपोर्टिभो लाकोरुनालाई ४–२ ले हराउँदै बार्सिलोनाले उपाधि जितेको हो । बार्सिलोनाको जितमा लियोनेल मेस्सीले ३ तथा फिलिप कोटिन्होले १ गोल गरे ।
खेलको सातौं मिनेटमा फिलिप कौटिन्होको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो । ३७ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनाको २–० अग्रता लिए । ४० औं मिनेटमा लुकास पेरेजले गोल गरेपछि डिपोर्टिभोले पहिलो हाफ अघि बार्साको अग्रता २–१ मा छोट्याएको थियो । ६४औं मिनेटमा इम्रे कोलाकले गोल गर्दै खेल बराबरीमा पुर्याए ।
८२औं मिनेटमा मेस्सीले दोस्रो गोल गर्दै बार्सिलोनालाई पुनः अग्रता दिलाए । त्यसको तीन मिनेटपछि मेस्सीले अर्को गोल गर्दै ह्याट्रिक पूरा गरे भने बार्सिलोनाले ४–२ को जित हात पार्यो । यससँगै बार्सिलोनाले २५ औँ पटक ला लिगा च्याम्पियन भएको हो ।
बार्सिलोनाले चार खेल अगावै उपाधि जित्ने क्रममा ३४ खेलबाट ८६ अंक जोडेको छ। उसलाई पछ्याइरहेको एथ्लेटिको मड्रिडले ३५ खेलबाट ७५ अंक जोडेको छ। रियल मड्रिड भने ३४ खेलबाट ७१ अंकमा सीमित भएको छ। अबका बाँकी ३ खेल एथ्लेटिकोले जित्दा पनि बार्सिलोनासँग रहेको ११ अंकको दुरी भेट्न असम्भव भएसँगै बार्सिलोनाले चार खेल अगावै उपाधि उचालेको हो ।
मेस्सीले ह्याट्रिकसँगै जारी सिजनमा लिग गोल संख्या ३२ पुर्याएका छन्। उनले युरोपमा सर्वाधिक गोल गर्ने सूचिमा मोहमद सलाहलाई १ गोलले पछाडि पारे। यससँगै ला लिगमा लगातार ७ सिजन ३० भन्दा बढी गोल गर्ने मेसी पहिलो खेलाडी पनि बनेका छन्।