तुवाँलोले ढाकेपछि कामाडौं उपत्यकासहित पहाडी भू–भागमा बढ्यो प्रदूषण


२९ चैत्र २०७९, बुधबार
ktm polution scaled

काठमाडौँ । काठमाडौँ उपत्यकासहित आसपासका पहाडी भू–भागमा तुवाँलो लागेका कारण धेरै ठाउँमा प्रदूषण बढेको छ । आगलागी र डढेलोका घटना बढेकाले प्रदूषण बढेको हो । यस्तै, गाडीबाट निस्किएको धुवाँका कारण पनि वातावरण प्रदूषित भएको छ ।

केही दिनदेखि पानी नपरेकाले पनि प्रदूषण ह्वात बढेको छ । काठमाडौँ उपत्यकामा वायुको गुणस्तर सूचकांक (एक्यूआई) ले जोखिम तह नाघेको छ । एक्यूआई शून्यदेखि ५० सम्मको मानकलाई सामान्य अवस्था मानिन्छ । तर काठमाडौँको प्रदूषण मापन सूचक एक्यूआई २ सय ४४ पुगेको छ । भक्तपुरमा २ सय २७ छ । त्यस्तै हेटौंडामा १ सय ७२, तुलसीपुरमा १ सय ७० रहेको छ । अन्य सहरमा पनि प्रदूषण बढेको छ ।

तत्काल पानी पर्ने सम्भावना नरहेकाले प्रदूषण अझै बढ्न सक्ने अनुमान गरिएको छ । एक्यूआई एक सय ५० भन्दा माथि जानुलाई त्यहाँको हावा मानव स्वास्थ्यका लागि हानिकारक रहेको मानिन्छ । काठमाडौँसहितका धेरै सहरमा एक्यूआई एक सय ५० भन्दा माथि नै रहेकाले सचेत हुन विज्ञहरुले आग्रह गरेका छन् ।

स्वास्थ्यलाई नै हानी गर्ने खालको प्रदूषण बढेकाले घर बाहिर निस्कँदा मास्क लगाउन स्वास्थ्यविज्ञहरुको सुझाव छ । प्रदूषणकै कारण काठमाडौँ उपत्यकासहित धेरै ठाउँमा बिहानैदेखि तुवाँलो लागेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिएकी छन् । उनका अनुसार अझै एक–दुई दिनको मौसम यस्तै रहने अनुमान छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७