निरुको हत्या आशंकामा एक जना बाउन्सर पक्राउ


१७ बैशाख २०८०, आईतवार
niru

काठमाडौँ । प्रहरीले काठमाडौं कपनकी निरा पाण्डे आचार्य (निरु) को हत्यामा संलग्न भएको आशंकामा एक जनालाई पक्राउ गरेको छ । प्रहरी उच्च स्रोतले दिएको जानकारी अनुसार झापाबाट विनोद विक नाम गरेको आरोपीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका आरोपित बाउन्सर रहेको प्रहरीको उच्च स्रोतले जनाएको छ । उनी काठमाडौँमा बाउन्सरको काम गर्थे । नीराको हत्यापछि उनी भागेर झापा पुगेको प्रहरी उच्च स्रोतको भनाइ छ । उनलाई काठमाडौं ल्याउने तयारी भइरहेको स्रोतको भनाइ छ ।

तर प्रहरीले यसबारे आधिकारि रुपमा कुनै पनि सूचना दिन मानेको छैन । अनुसन्धान हुँदैछ भन्दै सबै विवरण अनुसन्धानपछि सार्वजनिक गर्ने जनाएको छ । एआईजी किरण बज्राचार्यको नेतृत्वमा गठित समितिका एक उच्च अधिकृतले अनुसन्धानले सकारात्मक मोड लिएको बताउँदै थप विवरण केही समयपछि सार्वजनिक गरिने जनाए ।

यही वैशाख ७ मा पसलमा दिनदहाडै छुरा प्रहार गरेर पाण्डेको हत्या भएको थियो । प्रहरी प्रभाग, कपनको टोली घटनास्थलमा पुग्ने वित्तिकै त्रिवि शिक्षण अस्पताल लगिएको थियो । तर, चिकित्सकहरुले मृत घोषित गरेका थिए । पोष्टमार्टममा संलग्न चिकित्सकहरुका अनुसार निरुको शरीरमा कम्तीमा १९ पटक छुरा प्रहार गरिएको थियो ।

निरुको हत्या भएको एक साता बढी समय भइसक्दा पनि आरोपी पक्राउ पर्न नसकेको भन्दै प्रशासनविरुद्ध आन्दोलन भइरहेको थियो । त्यहीबीच प्रहरीले शनिबार राति झापाबाट एक जना व्यक्तिलाई नियन्त्रणमा लिएको हो । पाण्डे झण्डै १० वर्षदेखि ‘निरु किचन’ चलाउँदै आएकी थिइन् । व्यवसाय राम्रो हुँदै गएपछि करिब तीन वर्षअघि उनी र श्रीमान योगेन्द्र आचार्यले अर्को पसल पनि खोलेका थिए । अर्को पसल करिव एक सय मिटरको दूरीमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७