सन्दीप लामिछाने सोमबार दक्षिण अफ्रिका जाने


२१ जेष्ठ २०८०, आईतवार
Sandeep

काठमाडौँ । नेपाली ब्याटर सन्दीप लामिछाने राष्ट्रिय टोलीसँग अभ्यास खेलका लागि सोमबार साँझ दक्षिण अफ्रिका जाने भएका छन् । जिल्ला अदालत काठमाडौंले उनीविरुद्धको बलात्कारसम्बन्धी मुद्दाको पेसी आगामी असार २९ गतेका लागि तोकेपछि नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई दक्षिण अफ्रिका पठाउने तयारी गरेको हो ।

सन्दीपलाई सोमबार साँझ दक्षिण अफ्रिका पठाउने तयारी भइरहेको क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले जानकारी दिए । सन्दीपलाई राष्ट्रिय टोलीसँग अभ्यास खेलमा सहभागी गराउन सोमबार साँझ दक्षिण अफ्रिका पठाउने निर्णय भइसकेको उनले बताएका छन् । दक्षिण अफ्रिकामा अभ्यास म्याच खेल्न राष्ट्रिय टोलीका अरु सदस्य मंगलबार नै त्यसतर्फ गइसकेका छन् । तर अदालतले फैसला दिने गरी तयारी गरेर सुनुवाइ पनि अघि बढाएका बेला सन्दीप जानबाट रोकिएका थिए ।

उच्च अदालत पाटनले गत पुस २९ गते जेलबाट रिहा गर्ने गरी दिएको आदेशमा सन्दीपलाई विदेश जान रोक लगाएको थियो । तर सर्वोच्च अदालतले उच्चको उक्त आदेशलाई बदर गर्दै विदेश जाने बाटो खोलिदिएको थियो । तर, सन्दीपले हरेक २१ दिनमा जिल्ला अदालतमा उपस्थित हुनुपर्ने बाध्यात्यमक प्रावधानले उनी मंगलबार त्यता जान पाएनन् ।

यसबीचमा यो मुद्दालाई लिएर सन्दीपका वकिलहरुले कम्तीमा डेढ महिना पर पेसी सार्न अदालतमा निवेदन दिएका थिए । अदालतबाट उक्त निवेदन स्वीकृत हुँदै अर्को पेसी आगामी असार २९ गतेलाई मात्रै तोकिएपछि सन्दीपको क्रिकेट यात्रा नरोकिने भएको हो । दक्षिण अफ्रिकामा नेपालले चार अभ्यास खेल खेल्ने छ । त्यसपछि टोली त्यहीँबाट विश्वकपको ग्लोबल छनोट खेलमा सहभागी हुनका लागि जिम्बाब्वे उड्ने छ । जेलबाट छुटेर पनि बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेका सन्दीप बिनाको राष्ट्रिय टोलीमा समस्या देखिने भएपछि क्यानले उनलाई लैजान पहल गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७