शेयर लगानीकर्ताको सुरक्षाका लागि पूर्ण सहयोग हुन्छ : अर्थमन्त्री डा. महत


२५ जेष्ठ २०८०, बिहीबार
prakash

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले लगानीको क्षेत्रमा धितोपत्र बोर्डको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । धितोपत्र बोर्डको ३१औं वार्षिकोत्सवको अवसरमा मन्त्री डा. महतले भने, ‘शेयर बजारमा लगानी र आयआर्जनका दृष्टिले ठूलो आकर्षण छ । त्यसैले पिन बोर्डको जिम्मेवारी र दायित्व बढेको छ ।’

उनले पुँजीबजारका ५६ लाख लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्नु बोर्डको दायित्व र जिम्मेवारी भएको बताए । उक्त जिम्मेवारीलाई उच्च महत्वका साथ धितोपत्र बोर्डले काम गर्नेछ र यसलाई अझ उचाइमा पुर्‍याउनेमा उनले विश्वास व्यक्त गरे । धितोपत्र बोर्डले नियमनको काम प्रभावकारीरुपमा गर्नुपर्ने भन्दै उनले शेयर बजारलाई अझैं स्वच्छ, विस्तारित र लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्नका लागि आफ्नो तर्फबाट पूर्णरुपमा सहयोग हुने बताए ।

‘आगामी आर्थिक वर्षका लागि आय तथा व्यय प्रस्तुत गर्दा शेयर बजारको विषयमा व्यवस्थाको उद्देश्य आम लगानीकर्तालाई आयकरको दायरामा ल्याउने होइन, यस विषयमा जुन हल्ला चल्यो त्यो गलत हो’, उनले भने । शेयर बजारबाट निश्चित व्यक्तिले फाइदा लिने माध्यम बोर्ड बन्न नहुने भन्दै उनले पुँजी बजारमा केही फाइदा हुन्छ भन्ने आशामा गाँस काटेर लगानी गर्नेहरुको सुरक्षा गर्नु बोर्डको ठूलो जिम्मेवारी भएको बताए ।

‘शेयर बजारलाई प्रतिस्पर्धात्मक बनाएर लैजानुपर्छ । कमोडिटी बजारलाई पनि सेयर बजारमा प्रवेश विषय छ । धितोपत्र बोर्डलाई ‘अटोमेटेट सिस्टम’ लैजानुपर्छ’, उनले भने, ‘हरेक क्रियाकलापलाई कागजरहित बनाउने र कसैले अनपेक्षित फाइदा लिन नपाउने सुनिश्चिता गर्नेलगायतका कुरामा उच्च सर्तकता धितोपत्र बोर्डले अपनाउनु पर्छ ।’

शेयर बजारलाई स्वस्थ्य बनाउन नेपाल राष्ट्र बैंकले पनि महत्वपूर्ण भूमिका खेल्न सक्ने उनको भनाइ छ । ‘शेयर बजारलाई कमजोर बनाउने, यसप्रतिको विश्वासलाई कम गराउने काम हामीबाट हुँदैन, तर सीमित व्यक्तिहरुले मात्रै फाइदा उठाउने र नाम भने ५६ लाख लगानीकर्ताको लिने प्रवृत्तिको अन्त्य जरुी छ’, उनले भने । सूचना प्रविधिको भरपूर उपयोग गर्न अर्थमन्त्री डा. महतले सुझाव दिए । उनले धितोपत्र बोर्ड छिट्टै आफ्नै भवनमा सर्नका लागि अर्थ मन्त्रालयले सक्दो सहयोग गर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७