मोदी भ्रमण : सर्वसाधरणलाई दुई दिन सास्ती, यी रुट बन्दैछन् अस्त–व्यस्त


२६ बैशाख २०७५, बुधबार
modi tour

काठमाडौं, २६ बैसाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार दुई दिने नेपाल भ्रमणमा आउँदै छन् । उनको भ्रमणका क्रममा सर्वसाधारणले सडकमा समेत सास्ती भोग्नुपर्ने भएको छ ।modi tour

मोदीको भ्रमणको बेला उनको रुट करीब एक घण्टा खाली गराउन लागिएकाले ती रुटमा चल्ने सवारीसाधन पूर्णरुपमा प्रभावित हुने छन् । शुक्रबार बिहानै जनकपुर दर्शन गरी मोदी काठमाडौं आउने कार्यक्रम छ । उनी बौद्धस्थित हायात होटलमा बस्ने भएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट होटलसम्म पुग्दा करीब एक घण्टा बाटो खाली गराउने सुरक्षा योजना बनेको छ ।

त्यही दिन राष्ट्रियसभा गृहमा उनको नागरिक अभिनन्दन र सम्बोधन कार्यक्रम छ । त्यस अवधिमा भृकुटीमण्डपको सडक मात्र नभई रत्नपार्कबाट भद्रकालीतर्फको सडक पनि खाली गराउने तयारी छ । शुक्रबार नै उनलाई टुंँडिखेलमा गार्ड अफ अनर दिने कार्यक्रम छ । त्यो अवधिमा पनि टुँडिखेल आसपास सडक खाली गराइने ट्राफिक प्रहरीले जनाएको छ ।
त्यस्तै, भोलिपल्ट बिहानै उनी मुक्तिनाथ दर्शनका लागि विमानस्थलबाट हेलिकप्टरमार्फत मुस्ताङ जाने कार्यक्रम छ ।

त्यो अवधिमा पनि सडक खाली हुनेछ । मोदीले राष्ट्रपति विद्यादेवी भण्डारी तथा उपराष्ट्रपति नन्दबहादुर पुनलाई भेट्ने कार्यक्रम अनुसार उनी शीतलनिवास जाने छन् । त्यस अवधिमा सर्वसाधारणले थप सास्ती भोग्ने छन् । उनको राजनीतिक भेटघाट द्वारिकाज होटलमा हुने जनाइएको छ । सो अवधिमा होटलको सडकखण्ड बन्द गर्न लागिएको छ ।

स्वदेश फर्कने क्रममा पनि विमानस्थलसम्मको बाटो करीब एक घण्टा खाली गराइँदा काठमाडौंको ट्राफिक व्यवस्थापन अस्त–व्यस्त बन्ने देखिएको छ । उनले शनिबार नै पशुपतिनाथ मन्दिरको दर्शनको सम्भावना रहेको बताइए पनि तय भइसकेको छैन । महानगरीय ट्राफिक प्रहरी महाशाखाका निमित्त प्रमुख एसएसपी उमेश रञ्जितकारका अनुसार राजकीय भ्रमण भएकाले मापदण्डअनुसार सडक खाली गराउनुपर्ने हुन्छ । सकेसम्म सर्वसाधारणलाई कम मर्का पर्ने गरी आफूहरुले योजना बनाउने उनी बताउँछन् । बन्द हुने सडकको रुटबारे पहिले नै सर्वसाधारणलाई जानकारी दिने ट्राफिकको तयारी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७