बागमती प्रदेशसभामा नाराबाजी, वैठक स्थगित


१७ असार २०८०, आईतवार
bagmati uml 1688297014

हेटौंडा । विपक्षी दलको विरोधका कारण बागमती प्रदेश सभा बैठक अवरुद्ध भएको छ । प्रदेश सभाको आइतबारको बैठकमा बजेटमाथि छलफल गर्ने कार्यसूची थियो । तर, प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले), राप्रपा र नेपाल मजदूर किसान पार्टी (नेमकिपा)का सांसदले बैठक शुरू हुने बित्तिकै अवरुद्ध पारेका हुन् ।

विपक्षी दलले विरोध गरेपछि सभामुख भुवनकुमार पाठकले नेमकिपा संसदीय दलका नेता सुरेन्द्रराज गोसाईंलाई बोल्न समय दिएका थिए । प्रदेश सरकारले बजेटलाई समावेशी ढङ्गबाट वितरण नगरेको, हुँदै नभएको वडामा बजेट विनियोजन गरेको, गैरसरकारी संस्थालाई नाम नै तोकेर अनुदान वितरण गरिएको लगायतका विषयमा विरोध जनाएका थिए ।

उनले बोले लगत्तै विपक्षी दलका सांसदले प्रदेश सभामा नाराबाजी गरे । उनीहरूले बजेट सच्याउन माग गरेका छन् । विपक्षी दलका सांसदले नाराबाजी गरेपछि सभामुख पाठकले प्रदेश सभाको बैठक स्थगन गरेका छन् । यसअघि असार १२ गते पनि विपक्षी दलले प्रदेश सभाको बैठक अवरुद्ध गरेका थिए । बजेटमा संशोधन नगरी पास गर्न नदिइने एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७