कोइराला, मिश्र र थपलियालाई ‘पुष्पलाल राष्ट्रिय पुरस्कार’ प्रदान


२५ असार २०८०, सोमबार
Pro Ktm Puspalal PM41 scaled

काठमाडौँ । सरकारले नेपालको राजनीतिक-सैद्धान्तिक, नेपाली समाजको इतिहास, साहित्य, संस्कृति र विज्ञान प्रविधिका क्षेत्रमा खोज, अनुसन्धान एवं लेखनमार्फत योगदान पुर्‍याउने तीन विशिष्ट व्यक्तित्वलाई ‘पुष्पलाल राष्ट्रिय पुरस्कार–२०७९’ प्रदान गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सो पुरस्कार प्रदान गरे । राजनीतिक-सैद्धान्तिक विषयगत क्षेत्रमा कमलप्रसाद कोइराला, इतिहास विषयगत क्षेत्रमा बालचन्द्र मिश्र र साहित्य, संस्कृति र विज्ञान विषयगत क्षेत्रमा गोपालप्रसाद थपलिया पुरस्कृत भएका हुन् । ती पुरस्कारको राशि प्रतिव्यक्ति रु एक लाख रहेको छ ।

विसं २००३ को मिलहरुको हड्ताल एवं मजदुरको जुलुसमा आठ वर्षको उमेरमा रमिते बनेर सहभागी भएका कोइराला २०१२ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्य, २०१९ मा नेकपाको केन्द्रीय सदस्य, २०४७ मा नेकपा (एमाले)को केन्द्रीय सदस्य, २०५१ को निर्वाचनमा मोरङ क्षेत्र नं ५ बाट निर्वाचित सांसद तथा २०६४ सालमा दक्षिण कोरियाका लागि नेपाली प्रथम आवासीय राजदूत थिए ।

विसं २०२२ मा ज्याला बढाउ अभियानबाट शोषण, उत्पीडन विरोधी आन्दोलनमा होमिएका थपलिया २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्य बनेका थिए । दक्षिण एसियाको कम्युनिष्ट आन्दोलनमा विद्यावारिधि गरेका मिश्र नेपाल विद्यावारिधि एशोसिएसनका अध्यक्ष, नवप्रवर्तन अनुसन्धान तथा शिक्षा प्रतिष्ठानका कार्यकारी अध्यक्ष छन् ।

सरकारले राजनीति, इतिहास र साहित्य, संस्कृति एवं विज्ञान विषयगत क्षेत्रमा खोज, अनुसन्धान गरी मुलुकको विकास, समृद्धि र सम्वर्द्धनमा विशिष्ट योगदान पुर्‍याउने व्यक्तित्वलाई सो पुरस्कार प्रदान गर्दै आएको छ । यसअघि सो पुरस्कारबाट डा. बेदुराम भुसाल, प्रा डा सुरेन्द्र केसी, शान्ता चौधरी, हिरण्यलाल श्रेष्ठ, मोदनाथ प्रश्रित, डा जगमान गुरुङ, घनेन्द्र बस्नेत, डा. ढाकाराम सापकोटा, जगन्नाथ आचार्य, मोहनचन्द्र अधिकारी, प्रा कृष्णप्रसाद पोखरेल, डा. माधवराज पन्थी, डा. राजेन्द्र विमललगायत सम्मानित भइसकेका छन् ।

सरकारले आर्थिक वर्ष २०६८/६९ को बजेट वक्तव्यमा सो पुरस्कार प्रदान गर्ने व्यवस्था गरेको थियो । यो पुरस्कार हरेक वर्ष नेपालको राजनीतिक आन्दोलन तथा राजनीतिक-सैद्धान्तिक, नेपाली समाजको इतिहास र साहित्य तथा संस्कृति गरी तीन क्षेत्रमा खोज, अनुसन्धान र लेखनकार्यमार्फत नेपाली समाजको प्रगतिशील परिवर्तनका निम्ति गरिएको महत्वपूर्ण योगदानलाई कदर गर्दै ती स्रष्टालाई सम्मान गर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७