यमबहादुरलाई स्वर्ण पदकले दिलाएको खुशी


२ श्रावण २०८०, मंगलवार
Yama bahadur

– सुशीला रेग्मी
पाल्पा । पाल्पा रामपुरका यमबहादुर समालले कराते खेल्न थालेको आठ वर्ष भयो । उनलाई सानैदेखि कराते खेल्न रुचि थियो । यही खेलमा केही गर्छु भन्ने मनसाय बनाएर खेल सुरु गरेका समालले आठ वर्षमा करातेको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा स्वर्ण पदक चुमे ।

दक्षिण कोरियामा हालै सम्पन्न १५औँ कोरिया ओपन कराते प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै समालले नेपाललाई स्वर्ण पदक दिलाए । गत असार तेस्रो साता सम्पन्न उक्त प्रतियोगितामा पुरुषतर्फको ६० किलो मुनिको तौल समूहमा समालले स्वर्ण पदक जितेका हुन् । अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा उनको यो दोस्रो सहभागिता थियो । पदक जितेर नेपाल फर्किका उनी औधी खुशी छन् ।

समाल भर्खर २१ वर्षको भए । सिनियर खेलाडीले करातेमा प्राप्त गरेको सफलताले आफूलाई हौस्याएको उनको भनाइ थियो । आफूले पनि कहिले स्वर्ण पदक प्राप्त गर्न सकिएला भन्ने समाललाई लागिरहन्थ्यो । खेलमा अथक मेहनत, लगनशीलता र अनुशासन बिना सफलता प्राप्त गर्न सम्भव नहुने उनले बताए । आफूले खेलमा यिनै कुरालाई ख्याल गर्दै लागिपरेको अनुभव सुनाए ।

‘कराते खेलमा सानैदेखि रुचि थियो, यसमै समर्पित छु, सक्दो मेहनत गरिरहेको छु’, उनले भने, ‘कोरियामा प्राप्त गरेको उपलब्धि मेरो जीवनका लागि महत्वपूर्ण रह्यो, यसले खेलमा थप हौसला मिलेको छ ।’ पदक जितेर देशको झण्डा फहराउन पाउँदाको खुशी जीवनकै महत्वपूर्ण क्षण रहेको उनले बताए । फाइनल खेलमा समालले भारतीय खेलाडीलाई आठका विरुद्ध शून्य अङ्कले पराजित गरेका थिए । अरू देशका खेलाडीका तुलनामा नेपाली खेलाडी आर्थिक तथा प्रशिक्षणको अभाव झेल्नुपरेको कुराले उनलाई दुःखी बनाएको छ । कोरियाको अनुभव प्राप्त गरेपछि सरकारले खेल र खेलाडीको भविष्य सुनिश्चितताका लागि धेरै गर्न बाँकी रहेको समालले बताए ।

‘बाहिरको खेलाडीको तुलनामा नेपालका खेलाडीलाई राज्यले सम्मान र सहयोगमा चासो दिँदैन, आफ्नै लगानीमा प्रतिस्पर्धा गरेर खेल्न खेलाडी बाध्य छन्, पर्याप्त आर्थिक रकम नहुँदा आफैले लगानी गरेर खेल्न समस्या हुँदा राम्रा खेलाडी खेल क्षेत्रबाट विस्थापित हुनु परेको छ’, उनले दुखेसो पोखे ।

रामपुर नगरपालिका–१ ठूलीबेंसी स्थायी घर भई हाल काठमाडौँमा अध्ययनसँगै खेलकुदमा लागेका समालले करातेमा पाएको सफलतापछि यसमै ठूलो सपना बुनेका छन् । कक्षा ३ सम्मको अध्ययन गाउँमै गरेका उनी काठमाडौँमा परिवारसँगै अध्ययन गर्न गए । काठमाडौँस्थित ह्वाइट हेभन एकेडेमीमा कक्षा ३ मा भर्ना भई अध्ययन सुरु गरेका उनले विद्यालयमा बिहान एक घण्टा कराते खेलमा सहभागी भएर सिक्न थाले । विद्यालयमै खेलकुदसम्बन्धी ज्ञान सिक्ने अवसरले उनलाई भविष्यमा राम्रो कराते खेलाडी नै बन्छु भन्ने प्रेरणा जागेको थियो ।

विद्यालयमा एक वर्षसम्म कराते सिकेका समालले परिवारको सहयोगमा विद्यालय समयबाहेक मनकामना डोजोमा आबद्ध भएर थप अभ्यास गरे । नौ वर्षको उमेरदेखि नै कराते खेल्न थालेका उनी अन्नतः भविष्यमा पनि यही विद्यामा लागेर देशको लागि खेल्ने र नाम चिनाउने अठोट बोकेर खेल्न थाले । खेलमा लगानी गर्न राज्य उदासीन बनेकामा उनले दुःख लागेको बताए ।

समालले भविष्यमा स्थानीयस्तरमा कराते खेलाडी उत्पादन गर्ने लक्ष्य लिएर भाइलाई पनि कराते खेल्न हौस्याएका छन् । राज्यले खेलाडीको मनोबल वृद्धि गर्न र खेलाडीलाई रोजगारको व्यवस्था गर्नुपर्ने उनको माग छ । उनका अनुसार स्वदेशमा खेल क्षेत्रमा लागेर बाँच्ने आधार नहुँदा खेलाडी विदेश पलायन हुनुपर्ने अवस्था छ । समालले स्थानीयस्तरसँगै विभिन्न स्थानमा भएका क्षेत्रीय, प्रदेश तथा राष्ट्रिय स्तरका प्रतियोगितामा सहभागिता जनाएका छन् । लगानी गरे नेपालले पनि खेलकुदमा उल्लेख प्रगति गर्न सक्ने उनको बुझाइ छ ।

पहिलो पटक समालले राष्ट्रियस्तरको करातेमा विसं २०७४ मा तेह्रथुममा प्रतिस्पर्धा गरे । विसं २०७५ मा उनले बाग्लुङमा लुम्बिनी प्रदेशको नेतृत्व गर्दै राष्ट्रियस्तरको खेलमा सहभागिता जनाएका थिए । बाग्लुङमा विसं २०७६ मा भएको राष्ट्रियस्तरको प्रतियोगितामा समालले स्वर्ण पदक जिते । यो उनको पहिलो पदक थियो । मलेसियाको क्वालालम्पुरमा भएको सातौँ केएल मेयर कपमा पहिलो पटक अन्तर्राष्ट्रियस्तरको खेलमा नेपालको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गरेका समालले बङ्गलादेश, मलेसिया र इन्डोनेसियाका खेलाडीसँग प्रतिस्पर्धा गर्दै रजत पदक प्राप्त गरे । सन् २०२३ मा ललितपुरमा भएको सेकेण्ड कृष्णप्रसाद भट्टराई मेमोरियल नेसनल कराते च्याम्पियनशिपमा उनले कास्य पदक जिते ।

दक्षिण कोरियामा स्वर्ण पदक जितेपछि समाललाई रामपुर नगरपालिकाले रू एक लाखसहित सम्मान गरेको छ । नगरपालिकाले आयोजना गरेको एक कार्यक्रमका बीच उनलाई नगर प्रमुख रमणबहादुर थापा, उपप्रमुख बालकुमारी थापा र प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले सम्मान गरेका हुन् । पाल्पाको रामपुरमा जन्मेर अन्तर्राष्ट्रियस्तरको खेलमा पहिचान दिलाउन सफल भएकामा सम्मान गरिएको नगर प्रमुख थापाले बताए । ‘अन्तर्राष्ट्रियस्तरको कराते खेलमा स्वर्ण पदक जित्न सफल यमबहादुरको सफलताले मुलुकको पहिचान बनाएको छ । खेल क्षेत्रमा भविष्य बोकेर अगाडि बढेका खेलाडीलाई नगर सरकारले प्राथमिकता दिँदै खेलकुदका गतिविधि अगाडि बढाइरहेको छ’, उनले भने ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको खेलकुदमा पहुँच नहुँदा राम्रा खेलाडीले अवसर नपाएको खेलकुद पत्रकार मञ्च पाल्पाका सहसचिव दुर्गेश मल्लले बताए । स्थानीयस्तरमा अभिभावकले खेलकुदमा लगानी गर्न चासो नदेखाउँदा पनि खेल क्षेत्रमा लाग्नेको कमी रहेको उनको भनाइ थियो । समाजमा यमबहादुरको सफलताले आफ्ना सन्ततिलाई खेलकुदमा लगानी गर्नुपर्ने रहेछ भन्ने सकारात्मक प्रभाव परेको सहसचिव मल्लले बताए ।

प्रतिस्पर्धात्मक खेलमा खेलाडी आफैले लगानी गरेर खेल्नुपर्दा समस्या हुने गरेको उनले टिप्पणी गरे । उनका अनुसार पारिवारिकको आर्थिक अवस्था कमजोर भएका राम्रा खेलाडी खेल क्षेत्रबाट विस्थापित भएर अन्य पेसा, व्यवसायमा लाग्न बाध्य भएका छन् । रामपुर नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा युवा, खेलकुद तथा मनोरञ्जन शीर्षकमा विभिन्न कार्यक्रम समेटेको छ । नगरको खेलकुद विकासलाई व्यवस्थित गरी युवा वर्गको सहभागिता वृद्धि गर्दै सक्षम खेलाडीको उत्पादन गर्ने उद्देशयले खेलकुद विकास समिति गठन गर्ने योजना अगाडि बढाइएको छ ।

‘मेयर कप अन्तर वडास्तरीय रनिङ शिल्ड’ प्रतियोगितालाई निरन्तरता दिँदै राष्ट्रिय खेलहरु समावेश गरी नगर खेलकुद महोत्सव सम्पन्न गर्ने, फुटबल, भलिबल र क्रिकेट आदि खेलका लागि प्रशिक्षणको समेत व्यवस्था मिलाइने, विभिन्न खेलकुदहरुमा सहभागी भई छानिएका खेलाडीहरुबाट नगरस्तरीय टोली बनाई अन्तर जिल्ला एवम् अन्तरपालिकास्तरीय खेलकुदमा सहभागी गराइनेलगायत योजना नीति तथा कार्यक्रममा समेटिएको प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले बताए ।

समुदायको लगानीमा निर्माण हुने खेलकुदका पूर्वाधारमा सहयोग गर्ने नीति अवलम्बन गरिने, प्रदेशस्तरमा खेल मैदान निर्माणको सम्भाव्यता अध्ययन गरी सम्बन्धित निकायसँग पहल गरिने, खेलाडीहरुको प्रोत्साहनका लागि विभिन्न विद्याका उत्कृष्ट खेलाडीलाई सम्मान एवं पुरस्कृत गरिने, राष्ट्रिय तथा जिल्लास्तरीय प्रतियोगिताका लागि छनोट भएका खेलाडीको दुर्घटना बीमा गरिनेलगायत कार्यक्रम आव २०८०/८१ को नीति तथा कार्यक्रममा समावेश गरिएको रामपुर नगरपालिकाले जनाएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७