‘एमाले आत्तिएको छैन, उत्साही र स्थिर छ’


५ श्रावण २०८०, शुक्रबार
rajendra ngautam scaled

पछिल्लो समयमा नेकपा (एमाले) को बिषयमा एउटा चर्चा छ, ‘सदस्यता नवीकरण कम भयो ।’ अर्को चर्चा छ, ‘सरकार बाहिर भएका कारण एमालेभित्र छटपटी छ । तत्काल सरकारमा जान चाहन्छ ।’ नेकपा (एमाले) ले ‘मिसन ग्रासरुट’ अभियान सके लगत्तै नयाँ हिसाबले जिम्मेवारी तोकेर मिसन -२०८४ सुरु गरेको छ । तर, नयाँ शक्तिहरुका कारण भबिष्यदेखि अत्तालिएको टिप्पणी पनि भएको छ । के नेकपा (एमाले) को सदस्यता नवीकरण निराशाजनक भएकै हो त ? एमालेको अहिलेको प्राथमिकता सरकारी र संगठन ? ‘लामो र गौरवमय’ इतिहास बोकेको नेकपा (एमाले) नयाँ शक्तिहरुका कारण भबिष्यदेखि आत्तिएको हो त ? नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमसँग गरिएको अन्तर्वार्ताको सम्पादित अंश : –

यसपालि नेकपा (एमाले) को सदस्यता नवीकरण निराशाजनक भयो भनेर बाहिर एमाले इतरकाहरु उत्साही भइरहेका देखिन्छ । सदस्यता नवीकरण कम भएकै हो ?
–हाम्रो पार्टीको सदस्यता नवीकरणको बिषयलाई लिएर बाहिर तथ्यहीन प्रचारहरु भइरहेका छन् । बाहिर जे प्रचार भएको छ, यर्थाथ त्यो होइन । हिजो नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एस) सहित एकता प्रक्रियाबाट बनेको सदस्यहरुलाई एकै ठाउँमा राखेर गणना तथ्याङ्क भन्दा कम हुनु स्वभाविक हो । तर, नेकपा (एमाले) एक्लै भएको बेला उसको पार्टी सदस्य कति थिए ? त्यो एक पटक हेरौं । नेकपा अलग भएपछि माओवादीका सदस्य साथीहरु केही एमालेमा रहनु भयो । केही माओवादीमा नै फर्किनु भयो । केही एमालेमा भएकाहरु पनि नेकपा (एस) मा जानुभयो ।

समग्रमा हिजोको एकीकृत सदस्यहरुको तुलना गरेर त्यसको आधारमा नेकपा (एमाले) को सदस्य घटेको तथ्याङ्क राखेर एमाले घटेछ भनेर निष्कर्षमा पुग्नु गलत हुन्छ । म तपाईंलाई एउटा उदाहरण दिन्छु कि विगतमा नेकपा (एमाले) एक्लै रहँदा २ हजार, २२ सय पार्टी सदस्य भएको जिल्लामा ३४/३५ सय सदस्य पुगेको छ । नेकपा (एमाले) मात्रैको सदस्यहरुको संख्या र त्यसको बढोत्तरीको स्थितिमा कति अन्तर छ ? त्यसलाई तुलना गरेर हेर्नुपर्छ ।

एकीकृत पार्टीको तथ्याङ्क राखेर एमालेको सदस्य घट्यो कि बढ्यो ? भनेर गरिएको बिश्लेषण तथ्यपरक छैन । संगठन विभागको तथ्याङ्क अनुसार अहिले ६० प्रतिशतले पार्टी सदस्यता नवीकरण गरिसक्नुभएको छ । फेरि साउन १५ सम्म हाम्रो पार्टी सदस्य नवीकरणको समय अवधि छ ।

ठ्याक्कै आँकडामा भन्न सक्नुहुन्छ, कति सदस्यता नवीकरण भयो, कति नयाँ सदस्य थपिए ?
–नेकपा (माओवादी केन्द्र) ले पार्टी एकीकरणको प्रक्रियामा आएको बेला दिएको पार्टी सदस्यको तथ्याङ्क कति थियो ? पहिले त्यो तथ्याङ्क चाहिन्छ । अनि नेकपा (एमाले) एकीकरण प्रक्रियामा गएको बेला पार्टी सदस्य कति थिए ? त्यो तथ्याङ्क चाहिन्छ । एउटा पार्टी नै छुट्टिएर गएपछि सदस्य संख्या एकीकृत पार्टीको भन्दा कम देखिनु स्वाभाविक हो । तर यहाँनिर म बडो प्रष्ट रुपमा भन्छु, नेकपा (एमाले) मात्रैको सदस्यता झण्डै ७५ प्रतिशतले बढेको छ ।

सामाजिक सञ्जालहरुमा नेकपा (एमाले) को सदस्यता कम नवीकरण भएको समाचारले एमाले छाडेर नयाँ पार्टी बनाएका नेकपा (एस) का नेता तथा कार्यकर्ताहरु भने उत्साही देखिन्छन् । त्यो खुशीप्रति टिप्पणी के छ ?
–त्यो खुशीको म कुनै ‘ग्राभिटी’ देख्दिनँ । पार्टी नवीकरणको क्रम चलिरहेको कारण अहिले नै तथ्याङ्क दिन सक्दिनँ । तर विभिन्न जिल्लामा ७५ प्रतिशतसम्म सदस्यता बृद्धि भएको छ । नवीकरणको क्रम चलिरहेका कारण अन्तिम तथ्य दिन सकिनँ । तर म एउटा उदाहरण दिन्छु । म हिजो सांसद र कार्यरत जिल्ला संखुवासभामा हिजो पार्टी सदस्य संख्या २१ सय वरिपरि थियो । आज त्यो संख्या नवीकृत भएर साढे ३४ सय पुगेको छ । ल भन्नुहोस् त नेकपा (एमाले) को संख्या बढ्यो कि घट्यो ?

त्यसैले मैले नेकपा (एमाले) को संगठनात्मक आधार, सामथ्र्य, पार्टीका सदस्यहरुको संख्या र पार्टी सदस्यहरुको गुणस्तरमा मापन गर्नुप-यो भनेको हुँ । एमालेका सदस्यहरु संख्या घट्यो वा बढ्यो भनेर कोही दुःखी वा खुशी हुनुपर्ने अवस्था छैन । बाहिर आएको कुरा तथ्यपरक छैन । एकीकृत पार्टी भएको बेला भन्दा अहिले सदस्यता घटेको सत्य हो तर एमालेमात्रै भएको पार्टी भन्दा ७५ प्रतिशत बढेको छ ।

हो, हिजो एकताको क्रममा माओवादीका साथीहरुले जिल्लामा ५ हजार, १० हजार संख्या जोड्न थाल्नुभयो, त्यो बेला हामीले पनि हौसिएर पार्टीका मतदाताहरुलाई समेत पार्टी सदस्यता दियौं । तर अहिले फरक अवस्थामा छौं । पार्टीले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ र त्यसपछि गरिएको जिम्मेवारी हेरफेरपछि पार्टीका नेताहरु ‘फिल्ड’ मा पुग्नुभयो । त्यसपछि पार्टी सदस्यता नवीकरणको हकमा पनि नयाँ मूल्य र मान्यता लागु गरिएको छ ।

हिजोको जस्तो कसैले नवीकरण गरिदिने होइन, स्वयम् पार्टीका सदस्यहरुले आफ्नो सदस्यता आफैले नवीकरण गर्नुपर्छ । यस प्रकारले सदस्यता नवीकरण गर्दा समेत नेकपा (एमाले) का पार्टी सदस्यको संख्या ७५ प्रतिशतले बढेको छ । म यहाँनिर फेरि पनि स्पष्ट पार्छु, हिजो दुई पार्टी मिलेर नेकपा गठनको अवस्थामा भन्दा स्वाभाविक रुपमा पार्टी सदस्यता संख्या घटेको छ । तर नेकपा बन्नु अघिको नेकपा (एमाले) को अन्तिम पार्टी सदस्य संख्याको तुलनामा ७५ प्रतिशतले बढेको छ ।

नेकपा (एमाले) ले ‘मिसन ग्रासरुट’ अभियानबाट फर्के लगत्तै केन्द्रीय कमिटी सदस्यको कार्यविभाजन नयाँ हिसाबले गरेको छ । प्रहरी वा कर्मचारीको जसरी कार्यसम्पादन मूल्याङ्कन गर्ने गरी फरक–फरक जिल्लामा जिम्मेवारी दिएको छ । एमालेले ‘मिसन ग्रासरुट’ अभियानबाट उत्साहित भएर हो या आत्तिएर यस प्रकारको कार्यविभाजन गरेको हो ?
–नेकपा (एमाले) ले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ अभियानको सन्देश थियो, ‘पार्टी ‘स्कुलिङ’ नभएर वैचारिक र राजनीतिक हिसाबले कमजोर भयो । त्यसले ‘पार्टी स्कुल’ को क्षेत्रमा विशेष जोड देऊ । पार्टीले सरकारमा हुँदा आफूले गरेको काम र पार्टीले उठाएको मुद्दाहरु जनताका बीचमा पुगेनन् । त्यसले प्रचारको क्षेत्रमा विशेष जोड गर । पार्टीको नर्सरीको रुपमा रहेका जनसंगठनहरुको कामलाई अरु व्यवस्थित गर ।’

हो, ‘मिसन ग्रासरुट’ ले गरेको यही दिशानिर्देश बमोजिम आजका पार्टीको मुख्य क्षेत्र एउटा पार्टी स्कुल, प्रचार र जनसंगठनहरु हुन् भन्ने प्राथमिकतामा राखेर पार्टी केन्द्रीय नेतृत्वलाई जिम्मेवारी दिएर पठाइएको छ । उहाँहरुलाई स्पष्ट र परिभाषित जिम्मेवारीसहित पार्टीले काममा पठाएको छ । नत्र पहिले के हुन्थ्यो भने एउटा इञ्चार्ज छ, अरु १० वटा सहइञ्चार्ज । उसको के जिम्मेवारी हो ? उसैलाई थाहा छैन । मलाई सहइञ्चार्जमा झुण्ड्याइ दिएको छ, यसो बैठकमा पुगेर आउँछु भन्ने स्थिति थियो ।

अहिले नेकपा (एमाले) का हरेक केन्द्रीय सदस्यको स्पष्ट जिम्मेवारी छ । त्यो महानगर हुनसक्छ, नगर, गाउँपालिका वा जिल्ला हुन सक्छ । पार्टी स्कुल वा जनसंगठन हुनसक्छ अथवा प्रचार हुनसक्छ । हरेक व्यक्तिले आफ्नो व्यक्तिगत जिम्मेवारी र जवाफदेही निर्वाह गर्ने गरी कार्यविभाजन गरिएको छ ।

राम्रो गरे पुरस्कृत र राम्रो गर्न नसके त्यसको अपजस उसैले लिने गरी प्रत्येक केन्द्रीय सदस्यलाई जिम्मेवारी दिएर पठाएका छौं । पार्टीका हरेक केन्द्रीय सदस्यह स्पष्ट जिम्मेवारी र स्पष्ट ‘टीओआर’ सहित आफ्नो कार्यक्षेत्रमा जानुभएको छ । अब एक बर्षको रिजल्टले के भन्छ ? त्यसको आधारमा हामी नयाँ योजना बनाउनेछौं । ‘मिसन ग्रासरुट’ बाट आत्तिएर होइन, उत्साहित भएर पार्टीलाई एकताबद्ध र विचारसहितको पार्टी निर्माणको लागि नयाँ कार्यविभाजन गरिएको हो ।

Rajendra gautam 1


कुनै पनि राजनीतिक दलको केन्द्रीय बिषय भनेको राजनीति नै हो अर्थात् आन्दोलन र अभियान । एमालेलाई आलोचना गर्नेहरुले भन्छन्, ‘एमालेले अहिले अभियान वा आन्दोलन होइन परियोजना’ चलाइरहेको छ । एमालेले ‘परियोजना जस्तो परीक्षण’ गरिरहेको छ भनेर आलोचना गर्नेहरुलाई तपाईको उत्तर के छ ?
–त्यो त बिलकुल हुँदै होइन । किनभने राजनीतिक दल सञ्चालन हुने नै एजेण्डाको आधारमा हो । नेकपा (एमाले) को एजेण्डा स्पष्ट छ । हाम्रो गन्तव्य स्पष्ट छ । हाम्रो गन्तव्य समाजवाद हो । तत्काल समाजवादको लक्ष्यमा पुग्न सम्भव छैन । तसर्थ समाजवादसम्म पुग्नका लागि त्यसका आधार तयार पार्ने काम अहिलेको हाम्रो प्रमुख कार्यदिशा हो । पार्टी अभियान होस्, नेकपा (एमाले) ले नेतृत्व गरेको स्थानीय सरकार होस् वा प्रदेश सरकार र संघीय सरकारको नेतृत्वमा रहँदा होस् वा पार्टी अभियानमा सम्पूर्ण हिसाबले समाजवाद स्थापनाको आधार निर्माणमा हाम्रो सम्पूर्ण कार्यक्रम र अभियान सञ्चालन गर्नुपर्छ भन्नेमा हामी स्पष्ट छौं ।

अहिले पनि स्थानीय सरकारका नेतृत्व गरिरहेका जनप्रतिनिधि र कार्यकर्ताहरुलाई हामीले हाम्रो मुद्दा अनुरुप काम गर्नुपर्छ भनेर प्रशिक्षित गरिरहेका छौं । उदाहरणका रुपमा जनताको प्रत्यक्ष जीवनसँग गाँसिएका शिक्षा, स्वास्थ्य, आवासको हकका लागि हामीले काम गरिरहेका छौं । हाम्रो संबिधानको प्रस्तावनामा स्पष्ट उल्लेख छ, समाजवाद उन्मुख राज्य निर्माण गर्ने । जनताको जीवनसँग गाँसिएका र हाम्रो संबिधानको प्रस्तावनामा परिकल्पना गरिएको समाजवाद उन्मुख राज्य व्यवस्था निर्माण अभियानमा हामी छौं । हाम्रो पार्टीले पनि सोही अनुसार गन्तव्य स्पष्ट पारेर कार्यक्रम र अभियान चलाइरहेको छ ।

समाजवाद तयार पार्नका लागि न्यूनतम् मापदण्डहरु चाँहि के हुन् भन्दाखेरी यो देशको कुनै पनि जनप्रतिनिधि चाहे त्यो प्रधानमन्त्री होस्, चाहे मुख्यमन्त्री होस् या पालिका प्रमुख होस् वा गाउँपालिका अध्यक्ष होस् । उहाँहरुले ढुक्कसँग भन्न सक्नुपर्छ कि आफ्नो जिम्मेवारी र क्षेत्रभित्र कुनै पनि नेपाली जनताको आवास हुनेछ । कुनै पनि नेपाली जनता भोकले मर्ने छैनन् अर्थात् ‘गाँसको अधिकार’ त्यसलाई कार्यान्वयन गर्ने हो ।

संबिधानको कार्यान्वयन भनेको संबिधानको मौलिक हकसँग जोडिएका धेरै मुद्दा छन् । जस्तै राज्यको निर्देशक सिद्धान्त, नीति तथा कार्यक्रमसँग जोडिएका मुद्दालाई हामीले कार्यान्वयन गरेर अघि बढ्नुपर्छ । हामीले सोही अनुसार भनेका छौं, ‘समृद्ध नेपाल : सुखी नेपाली ।’ एजेण्डाको कुरा गर्दा नेकपा (एमाले) मात्रै त्यस्तो पार्टी हो जसले आफ्नो राष्ट्रिय लक्ष्य निर्धारण गरेर हिंडेको छ । तपाईले यो सरकारलाई सोध्नुहोस् त ‘यो सरकारको राष्ट्रिय लक्ष्य के हो ?’

एमाले बाहेकको कुनै पनि सरकारले आफ्नो राष्ट्रिय लक्ष्य बताउन सकेको छ ? मलाई त थाहा छैन । तर नेकपा (एमाले) को राष्ट्रिय लक्ष्य छ, ‘समृद्ध नेपाल : सुखी नेपाली ।’ त्यो नेकपा (एमाले) ले समाजवादसम्म पुग्न बनाएको बाटो हो । त्यसको उदाहरण हो, प्रचण्डजीलाई किस्तीमा प्रधानमन्त्री पद दिएर गरिएको प्रयास । प्राप्त जनमतको आधारमा हामी एक्लैले सरकार बनाउन सक्ने अवस्था थिएन ।

त्यस्तो बेलामा हामीले प्रचण्डजीको अनुरोधमा हामीले उहाँलाई किस्तीमा प्रधानमन्त्रीको पद दिएर समाजवादको यात्रालाई सहज बनाउने कोशिस गरेका थियौं । तर उहाँ दुई महिना टिक्नुभएन । एमाले एजेण्डाविहीन छ, वा एनजीओ मार्कामा छ वा समय तोकेर पार्टी चलाइरहेको छ, तथ्य त्यहो होइन । हामी गन्तव्यमा पुग्न चाहन्छौं । त्यहाँसम्म पु¥याउने बाटो चाँहि २०८४ लाई केन्द्रित गरेर हिंडिरहेका छौं ।

Rajendra Gautam UML


नेकपा (एमाले) ले मिसन–०८४ पनि भन्छ । प्रधानमन्त्रीको राजीनामा माग्दै संसदमा एकपछि अर्को अवरोध पनि गरिरहेको छ । तपाईहरुका बिरोधीहरुले भनिरहेका छन् कि एमाले सत्ताबिना बस्दा छटपटी भइरहेको छ । स्पष्ट भनिदिनुहोस् न, एमालेको प्राथमिकता अहिले सरकारको हो कि सदन, सडक र पार्टी संगठन ?
– म बहुत प्रष्ट भाषामा भन्न चाहन्छु, नेकपा (एमाले) को आजको मुख्य एजेण्डा सरकार होइन । हुँदै होइन । मुख्य हाम्रो एजेण्डा पार्टी संगठन हो । पार्टी संगठनलाई सुदृढ बनाउने कुरा हो । पार्टीलाई बिचारसहितको बनाउने कुरा हो । पार्टी संगठनलाई दुरुस्त अपडेट गराउने कुरा हो ।

त्यसैले हामीले पार्टी केन्द्रीय कमिटीको ५ औं पूर्ण बैठक, स्थायी कमिटीको बैठकबाट र अहिलेको सचिवालयको बैठकबाट पार्टी निर्माणको विषयलाई नै मुख्य प्राथमिकता दिएर पार्टी कामको मुख्य कार्य क्षेत्र र संसदीय कामको मुख्य कार्य क्षेत्रको रुपमा सबै कार्यकर्ताहरुलाई जिम्मेवारी दिएर अगाडि बढिरहेका छौं । त्यसो भएको हुनाले अहिलेको हाम्रो मुख्य कामको मुख्य कार्य क्षेत्र पार्टी निर्माण हो । सरकार होइन ।

प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डलगायत हिजोका नेकपाका नेताहरुले घरीघरी भन्छन्, ‘अब नेकपा ब्यूँताउनुपर्छ ।’ तर नेकपा (एमाले) का नेताहरुले भनिरहनु भएको छ, त्यो सम्भव छैन । बरु, कांग्रेससँग सहकार्य हुनसक्छ । नेकपा व्यूँताउने कुरा गर्ने नेताहरुले समाजवादी मोर्चा पनि बनाएका छन् । एमालेको प्राथमिकता चाँहि नेकपा व्यूँताउने हो कि कांग्रेससँगको सहकार्य ?
–सबैभन्दा पहिलो कुरा नेकपा (एमाले) आफ्नो सामथ्र्यमा विश्वास गर्छ । आफूले तय गरेको गन्तव्यमा पुग्नका लागि सुदृढ, एकताबद्ध र विचारसहितको पार्टी निर्माण गर्ने कुरा हाम्रो प्रमुख प्राथमिकता हो । जब सरकारको नीति कार्यक्रम प्रस्तुत भयो, त्यही जगमा बजेट आयो । त्यसपछि नेपाली कांग्रेसभित्र एउटा ठूलो बहस सुरु भयो । अन्तरसंघर्षको अवस्था आयो । यसले प्रचण्डजीलाई चुनौती थपियो । त्यसपछि उहाँले आफू नेतृत्वको सरकारको निरन्तरताको निम्ति दुई वटा राजनीति पासा फाल्नुभयो । एउटा समाजवादी मोर्चा, अर्को नेकपा व्यूँताउने कुरा ।

मोर्चा निर्माण गर्ने कुरा, यसका वैचारिक, राजनीतिक दृष्टिकोणहरुको सन्दर्भमा नेकपा (एमाले) सँग कुनै छलफल भएन । उहाँले केवल आन्तरिक रुपमा गठबन्धनभित्रको असमझदारीलाई ‘थ्रेड’ को रुपमा प्रयोग गर्न म समाजवादी मोर्चा बनाउँदैछु, म एक्लो छैन भन्ने सन्देश दिनुभयो । अर्थात् प्रचण्डको विकल्प खोज्न नयाँ ठाउँमा जानुपर्छ भन्ने आवाजहरुलाई मत्थर गर्नका लागि आन्तरिक ‘थ्रेड’ को रुपमा मोर्चा प्रयोग गर्नुभयो ।

अर्कोतिर कम्युनिष्ट पार्टी भनेर लालझण्डा बोकेर हिंड्नेहरुका लागि पनि उहाँले हामी समाजवाद चाहनेहरु एक ठाउँमा उभिनुपर्छ भन्ने ललीपप दिनुभयो । कांग्रेसलाई म एक्लो छैन है, म नेकपा ब्यूँताएर पनि आउन सक्छु भन्ने ‘थ्रेड’ दिनुभयो । राजनीतिक बिषयलाई स्टण्डबाजी र आफ्नो सत्ताको रक्षाकवचको रुपमा प्रयोग गर्न खोजिदैछ । त्यसप्रति हाम्रो असहमति हो ।

मानाैं, नेकपा (एमाले) सहितको नयाँ सरकार बनाउने अवस्था आयो भने एमालेको प्राथमिकता कांग्रेस की समाजवादी मोर्चा ?
–मोर्चासँग त हामीले बनाइसकेका छौं । कांग्रेसले प्रचण्डजीलाई प्रधानमन्त्री नदिएपछि उहाँको अनुनय–विनय र छटपटीपछि प्रधानमन्त्री पद किस्तीमा राखेर बालकोटको बार्दलीबाट दिएको हो । ठिक छ, समाजवादी यात्रालाई अगाडि बढाऔं । हामी सबैको गन्तव्य समाजवाद हो । जाऔं भनेको हो । यो यात्रामा सँगै जाऔं हामीले भन्यौं । तर प्रचण्डजी दुई महिनादेखि टिक्नुभएन नि । प्रचण्डजी को हो ? प्रचण्डजी कुन ‘ग्राउण्ड’ मा बसेर काम गरिरहनुभएको छ ? भन्ने कुरा उहाँका अभिव्यक्ति र कामले पुष्टि गरिसकेको छ ।

यो प्रश्न एमालेलाई गर्ने भन्दा पनि गठबन्धनले आफ्नो पोजिसन क्लियर गर्नुपर्छ । त्यसमा तपाईले कांग्रेसको कुरा गर्नुभयो । उसले आफ्नो पोजिसन क्लियर गर्नुप-यो । उसको केन्द्रीय कमिटी बैठक चलिरहेको छ । यदि कांग्रेसले बैठकबाट गठबन्धनको बारेमा आफ्नो विचार सार्वजनिक गरिसकेपछि त्यसमा एमालेले के भन्ने त्यो एउटा कुरा भयो । तर सत्ता नै हाम्रो रोजाई नभएपछि कोसँग भन्ने प्रश्न नै रहेन ।

अर्कोतिर गठबन्धन जारी रहेको अवस्थामा नेकपा (एमाले) को एकल चाहनाले नयाँ सत्ता निर्माण गर्ने कुरा भन्ने कुरा होइन । गठबन्धनका कुनै ठूला शक्तिले सत्ताको बिषयमा आफ्नो नयाँ विचार बनायो भने त्यो अवस्थामा छलफल हुनसक्छ । उहाँहरु कुन एजेण्डाको साथ आउनुुहुन्छ । त्यो हेनुपर्ने हुन्छ । तर गठबन्धन कायम भएको अवस्थामा एमालेले सत्ताको कुरा गर्दैन ।


अलि फरक कुरा गरौं, तपाईंहरुको विगत गौरवमय र लामो छ । तर नयाँ शक्तिहरुले चुनौती दिन थालेपछि भबिष्यदेखि चाहिँ अत्तालिनु भएको हो ?
–हामी बिलकुल अत्तालिएका छैनौं । हामी स्थिर, उच्च चेतका साथ सम्पूर्ण परिस्थितिको बिश्लेषण गरेर हाम्रो पार्टीका गतिबिधि जनतासम्म पु-याउने र जनतासँगको सम्बन्धलाई सुदृढ राख्ने, परिवर्तित सन्दर्भमा हाम्रा एजेण्डाहरुलाई समीक्षा गर्नुछ भने समीक्षा गर्न तयार हुनेगरी वैचारिक रुपमा सुस्पष्ट र सांगठनिक रुपमा एकताबद्ध गर्ने गरी गइरहेका छौं ।

जहाँसम्म नयाँ शक्तिको कुरा छ, उहाँहरु पुरानो शक्तिसँगको जनताको निराशा र असन्तुष्टिलाई मात्रै समेटेर जाँदै हुनुहुन्छ कि ती राजनीतिक दलहरुको कुनै नीति छ, कार्यक्रम छ, बाटो छ । कुनै दर्शन छ ?

म नयाँ शक्तिलाई सोध्दैछु, कतिञ्जेल ढाँट्ने ? एउटा नयाँ शक्ति केही शक्तिसहित संसदमा छ । त्यसका गतिबिधि पनि हामी हेरिरहेका छौं । केही नयाँ शक्ति पनि खुल्दैछन् । त्यो हामीलाई सूचना छ । नयाँ भनिरहेकाहरुले आफ्नो कलर के हो त्यो स्पष्ट गर्नुप-यो । आफ्नो नीति के हो ? दर्शन के हो ? त्यो क्लियर गर्नुपर्छ । सिद्धान्त र गन्तव्य क्लियर गनुपर्छ ।

एउटा टर्निङ पोइन्ट आउँछ, त्यो क्लियर नगरी अघि बढ्नै सक्नु हुन्न । कुनै एक दिन यस्तो आउँछ कि आफ्नो नीति, कार्यक्रम, दर्शन क्लियर नगरी अघि बढ्नै सक्नुहुन्न । ढिलो वा चाँडो आफ्नो कार्यक्रम, नीति, सिद्धान्त क्लियर हुनैपर्छ । खहरे खोलाले लामो यात्रा गर्न सक्दैन ।

थप संवाद भिडियोमा हेर्नुहोस् :

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७