ज्येष्ठ नागरिक भन्छन्, ‘भत्ता नै बुढेसकालको सहारा’


१० श्रावण २०८०, बुधबार
Older people nuwakot
फाइल फोटो

तनहुँ । ‘कान्छो छोरा अमृत चितौन बस्छ, सधैँ उतै बस्न जाम आमा भनेर हत्ते गर्‍यो र गएँ पनि’, भानु नगरपालिका–१३ पोखरी छापकी ७२ वर्षीया धनमाया गुरुङले भनिन्, ‘तर झलझली गाउँको हावापानी सम्झिएँ, बस्नै सकिन र मेरै भत्ताले पालिन्छु भनेर गाउँ फर्किएँ ।’ भानु नगरपालिका–१३ को कार्यालयमा ज्येष्ठ नागरिक भत्ता नवीकरण गर्न स्वयं उपस्थित हुने क्रममा धनमायाले दुई वर्ष पहिलेको अनुभव सुनाएकी हुन् ।

उनी जस्तै अन्य ज्येष्ठ नागरिकले समेत ज्येष्ठ नागरिक भत्ता आफूहरुको बुढेसकालको दिगो सहारा भएको बताए । छोरासँगै बस्न भनेर दुई वर्ष पहिले भरतपुर गए पनि एक महिना बस्दैमा आत्तिएर गाउँ फर्किएको धनमायाको अनुभव छ । प्रचण्ड गर्मी र पानीको नमिठो स्वादले अत्तिएर गाउँ फर्किएको उनले जानकारी दिइन् ।

‘रातभरी पङ्खा लगाए पनि बानी नपरेकाले चितवनमा तातो हावाले गर्दा सुत्नै नसकेर खुबै आत्तिए’’ धनमायाले भनिन्, ‘गाउँमा भने पङ्खा नै चाहिदैन । अहिले पनि कम्बल ओडेर सुत्ने गर्छौ ।’ म्याग्दे गाउँपालिका–६ की ७३ वर्षीया राममाया परियारले आफ्ना तीन छोराले बेवास्ता गरेपछि आफू राज्यले दिने भत्ताकै भरमा एक्लै बस्दै आएको गुनासो गरिन् ।

उनको श्रीमान् तिलबहादुरको ७५ वर्षको उमेरमा दुई वर्ष पहिले मृत्यु भएको थियोे । विवाह भइसकेका तीन छोरीले आफूहरुसँग बस्न भने पनि एक्लै बसेर बाँकी जीवान धानेको परियारको भनाइ थियो । ‘श्रीमान् खसेपछि छोराहरुले वास्ता नै गरेनन् । छोरीहरुले हामी पाल्छौँ भनेर हत्ते गरे पनि बुढाको चिनो घर छाड्न मनले मानेन,’ उनले भनिन्, ‘त्यसैले भत्ताकै भरमा धानिँदै आएकी छु ।’

आफू र श्रीमती शिरमायालाई ज्येष्ठ नागरिक भत्ताले ठूलो राहत मिलेको म्याग्दे गाउँपालिका–४ का ७६ वर्षीय नरबहादुर थापामगरले बताए । दुई छोराले थर्पु बेंसीमा घर बनाएर बसे पनि आफूहरुले मूल घर नछाडेको उनले जानकारी दिए । ‘भत्ताले गर्दा बुढाबुढीले भनेजस्तो खाएकै छौँ । मन परेको लाएकै छौंँ’ नरबहादुरले भने, ‘हामी बुढाबुढीलाई भत्ता नै ठूलो सहारा भएको छ ।’

म्याग्दे–४ थर्पुस्थित ज्योति विकास बैंकमा सोमबार भेटिएका नरबहादुर दम्पत्तिले राज्यले भत्ता नदिए जीवन धान्न सास्ती पर्ने समेत बनाए । घरबाट करिब एक घण्टाको बाटो सवारीसाधनमा आउनुपर्दा आफूहरुलाई सास्ती भएको र राज्यले ज्येष्ठ नागरिक र अशक्तलाई घरमै पुगेर रकम दिने व्यवस्था गर्नुपर्नेमा नरबहादुरले जोड दिए । आफूले पाउँदै आएको भत्ता रकम समेत घरखर्च र परिवारको औषधि उपचारमा खर्च गर्दै आएको म्याग्दे– २ थुम्कीबाट भत्ता लिन बैंकमा आएकी ७३ बर्षीया जुठी कामीको भनाइ थियो ।

दुई छोरीको विवाह भइसकेको र एक छोरा ५७ बर्षीय धनसिं रोगी भएको जुठीले बताइन् । ‘यो पैसा निकालेपछि भोलि नै छोरालाई लिएर जचाउन पोखरा जाने विचारमा छु’, श्रीमान् तिलबहादुरको १०-११ वर्ष पहिले मृत्यु भएको बताउँदै उनले भनिन्, ‘भत्ता रकम नपाइदो हो त हामी गरिब त्यसै मर्ने थियौंँ । यही रकमले औषध उपचार पनि गर्न पाईएको छ ।’ राज्यले दिने भत्ता रकम गाउँ घरमै दिने व्यवस्था गरे आफूहरुले घण्टौँ हिँडेर आउन नपर्ने जुठीले बताइन् ।

राज्यले ६८ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई मासिक रु चार हजार , ६० वर्ष उमेर कटेका दलित ज्येष्ठ नागरिक र कर्णाली प्रदेशकालाई मासिक रु दुई हजार छ सय ६०, एकल महिला र विधुवालाई मासिक रु दुई हजार ६६०, पूर्ण अपाङ्गता भएकालाई मासिक रु तीन हजार नौ सय ९०, अतिअशक्त अपाङ्गता भएकालाई रु दुई हजार एक सय २८ र लोपोन्मुख आदिवासी जनजातिलाई मासिक रु तीन हजार नौ सय ९० र दलित बालबालिकालाई मासिक रु पाँच सय ३२ राज्यले उपलव्ध गराउँदै आएको छ । प्रत्येक तीन महिनामा राज्यले बैंकमा भत्ता रकम उपलव्ध गराउने गर्दछ । सामाजिक सुरक्षाभत्ता वितरण कार्यविधिअनुसार साउन महिनामा नवीकरण गरिसक्नुपर्ने गरी राज्यले सूचना प्रवाह गरिसकेको स्थानीय पालिकाहरुले जनाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७