बझाङमा निर्माणाधीन घर भत्काएको आरोपमा तीन जना पक्राउ


१३ श्रावण २०८०, शनिबार
Ghar bajhajhang

बझाङ । बझाङमा एक स्थानीयको बन्दै गरेको घर भत्काएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
बित्थडचिर गाउँपालिकामा सार्वजनिक जग्गामा घर बनाएको भन्दै घर भत्काएपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको हाे।

करण ओखेडाले बनाइरहेको घर शुक्रबार केही स्थानीयले भत्काएका थिए । सार्वजनिक जग्गामा घर बनाएको भन्दै वडा कार्यालयमा उजुरी समेत परेको थियो । त्यसपछि उनीहरूले घर भत्काएर खेतीपाती समेत फँडानी गरेका थिए । घटनापछि करण ओखेडाका बुवा पुट्केले आफूले लालपुर्जा भएको जमिनमै घर बनाएको तर स्थानीयले गैरकानुनी रूपमा घर भत्काइदिएको भन्दै शुक्रबार जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी दिएका थिए ।

पुट्केले आफ्नो नामको लालपुर्जा पनि सार्वजनिक गरेका छन् । उजुरीपछि प्रहरीले दुवै पक्षलाई प्रारम्भिक रूपमा बुझ्ने काम गरेको थियो । जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी जागेश्वर भण्डारीले पीडितले दिएको उजुरीका आधारमा तीन जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७