‘मेरो भ्वाइस युनिभर्स’मा परेश राईलाई जिताउन संखुवासभालीहरुले सुरु गरे अभियान


३० श्रावण २०८०, मंगलवार
Paresh Rai scaled

काठमाडौं : ‘इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’को आयोजनामा भइरहेको ‘मेरो भ्वाइस युनिभर्स’का प्रतिस्पर्धी परेश राईलाई जिताउन काठमाडौंवासी संखुवासभालीहरुले अभियान सुरु गरेका छन् । संखुवासभा समाज, काठमाडौंको अगुवाईमा राईलाई जिताउन विभिन्न संघ, संस्थाहरुले अभियान सञ्चालन गरेको हो ।

‘मेरो भ्वाइस युनिभर्स’मा राईलाई जिताउन समाजको अगुवाईमा अभियान जारी राखिएको समाजका अध्यक्ष नारायण कुमार गुरुङले बताए । संखुवासभा समाजसँगै काठमाडौं स्थित विभिन्न संघ, संस्थाहरुविच समन्वय भइरहेको उनको भनाई छ । संखुवासभा चैनपुर नगरपालिका–१० ईकुम्बा स्थायी घर भएका परेश ‘मेरो भ्वाइस युनिभर्स’को फाइनलमा पुगेका छन् ।

‘संखुवासभाको प्रतिभालाई प्रोत्साहित र सहयोग गर्नु हाम्रो दायित्व पनि हो,’ उनले भने, ‘मेरो भ्वाइस युनिभर्स’का प्रतिस्पर्धी परेश राईलाई जिताउन देशविदेशमा रहनु भएका सबै संखुवासभावासीहरुलाई भोट गरीदिन अपिल गरेका छौं । आर्थिक सहयोग उठाएर भोट पनि गरिरहेका छौं ।’

पायोनियर एडभेन्चर प्रा.लिका अध्यक्ष तथा पर्यटन व्यवसायी पासाङ शेर्पाले परेश राईलाई जिताउन अभियान जारी रहेको बताए । उनले भने, ‘परेश संखुवासभाले जन्माएको एउटा सम्भावना बोकेको प्रतिभा हो । उनको विजयको लागि सबैलाई भोट गर्न अपिल गर्दछु ।’

सेभेन समिट ट्रेक्स’का अध्यक्ष एंव चर्चित आरोही मिङमा शेर्पा, एटके एक्सपिटेशन प्रालिका अध्यक्ष तथा पर्यटन व्यवसायी लाक्पा शेर्पा लगायतले परेश राई जिताउ अभियानलाई साथ दिएका छन् । ‘मेरो भ्वाइस युनिभर्स’मा परेशलाई जिताउन काठमाडौंको कपन लगायतको क्षेत्रमा कार्यक्रम पनि आयोजना गर्न लागिएको अभियान्ता प्रबिन गुरुङले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७