रुसले गर्‍यो युक्रेनमा क्षेप्यास्त्र आक्रमण : पाँच जनाको मृत्यु, दर्जनौं घाइते


३ भाद्र २०८०, आईतवार
efgaf1692453433

चेर्निहिभ (युक्रेन) । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोका शीर्ष सैन्य कमान्डरसँग भेटेको केही घण्टापछि शनिबार युक्रेनको उत्तरी सहर चेर्निहिभमा क्षेप्यास्त्र आक्रमण गरिएको छ । आक्रमणमा परी कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै दर्जनौँ मानिस घाइते भएका छन् ।

किभबाट करिब १५० किलोमिटर उत्तरमा बेलारुसतर्फ रहेको चेर्निहिभ रुसको आक्रमणको पहिलो महिनादेखि नै यस्ता घटनाबाट धेरै हदसम्म जोगिएको थियो । पुटिनले दक्षिणी रुसको रोस्तोभ–अन–डोनको दुर्लभ भ्रमणका क्रममा रुसी सेनाका शीर्ष जर्नेललाई भेटेपछि यो आक्रमण गरिएको हो । यो आक्रमण हुँदा युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की स्वीडेनको भ्रमणका लागि त्यसतर्फ लागिसकेका थिए ।

चेर्निहिभ आक्रमणबारे पुष्टि गर्दै युक्रेनका गृहमन्त्री इगोर क्लाइमेन्कोले टेलिग्राममा भनेका छन्, ‘पाँच जनाको मृत्यु भएको छ । कम्तीमा ११ बालबालिकासहित ३७ जना घाइते भएका छन् ।’ जेलेन्स्कीका अनुसार यो आक्रमण ‘सहरको मध्यभागमा’ एउटा चोकमा भएको थियो, जहाँ पोलिटेक्निक विश्वविद्यालय र एउटा नाट्यशाला छ ।

‘एउटा सामान्य शनिबारलाई रुसले पीडा र क्षतिको दिनमा परिणत गरेको छ’, युक्रेनी नेताले स्वीडेन पुगेपछि भने । उनले घटनास्थलको एउटा भिडियो पोस्ट गरेका थिए । त्यसमा सोभियतकालीन एउटा ठूलो भवनको चारैतिर भग्नावशेष देखिएको छ । त्यसको वरिपरि रोकेर राखिएका कारहरूमा आंशिक रूपमा क्षति भएको छ । एएफपीका सञ्चारकर्मीले तारास शेभचेन्को नाट्यशाला संगीत एकेडेमीबाहिर दमकल देखेको बताएका छन् । आसपासका केही भवनमा पनि सामान्य क्षति पुगेको छ । रासस / सिन्ह्वा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७