गाउँमै माध्यमिक शिक्षा, बीचमै पढाइ छाड्ने बाध्यता हट्यो


१६ भाद्र २०८०, शनिबार
Student surkhet
फाइल फोटो

चितवन । चितवनको भरतपुर महानगरपालिका–२९ डुम्रेकी सुस्मिता चेपाङलाई माध्यमिक तहसम्मको अध्ययन गर्ने रहर थियो । तर गाउँको विद्यालयमा सो सुविधा नहुँदा माध्यमिक तह पढ्ने रहर अधुरै रहन्छ कि भन्ने चिन्ता पनि उत्तिकै थियो । गाउँ छाडेर सहरमा गइ पढ्न सक्ने अवस्था पनि थिएन् ।

तर यतिबेला भने उनको चाहना पूरा हुने भएको छ । महानगरपालिकाले यस वर्षदेखि आफूले गाउँको विद्यालयमा माध्यमिक तहसम्मको पढाइ सुरु गर्ने भएपछि उनको पढ्नका लागि सहर जानुपर्ने बाध्यता हटेको छ । माध्यमिक तहको पढाइ नहुँदा यहाँ पढ्ने अधिकांश विद्यार्थी ८ कक्षा पढेपछि विद्यालय छाड्न बाध्य थिए । सुस्मिताकी दिदी सिर्जना पनि कक्षा ८ पास गरेपछि विद्यालय छाडेर घर बस्न बाध्य भइन् । आफू पढ्दै आएको विद्यालयमा कक्षा ९ मा पढ्न पाउने मध्येकी एक भाग्यमानी किशोरी बनेको उनी बताउँछिन् । कक्षा ८ पढेपछि पढाइ नै सकिने गरेकोमा अब माध्यमिक तहको ढोका पनि खुलेको भन्दै उनी हर्षित छिन । डुम्रेमा कक्षा ३ सम्म पढेपछि त्यसपछिका कक्षा पढ्न गाउँका सबै चौकीडाँडा आउने गरेका छन् ।

चौकीडाँडाबाट नजिकको विद्यालय जुगेडीमा रहेको कविलास राष्ट्रिय मध्यमिक विद्यालय हो । त्यहाँको दूरी करिब १७ किलोमिटर छ । जहाँ घरबाट दैनिक जान र आउन सम्भव छैन । जसका कारण विद्यार्थीले कक्षा ८ पास गरेपछि पढाइ छाड्ने गरेका थिए । अहिले भरतपुर महानगरपालिकाले कक्षा १० सम्म पढाइ सञ्चालन गर्न अनुमति दिएपछि ८ पास गरेर पढाइ छाड्नुपर्ने बाध्यता हटेको हो ।

अहिले विद्यालयमा कक्षा ९ को पढाइ सञ्चालन भइरहेको प्रधानाध्यापक मुक्ति ढुङ्गानाले जानकारी दिए । कक्षा थप भएपछि ८ पास गरेर विद्यालय छाड्ने क्रम रोकिएको उनको भनाइ छ । ‘यहाँ पढेपछि कविलास र भरतपुरको बजार क्षेत्रमा नै जानुपर्छ । त्यहाँ जान यहाँका गरिब चेपाङ समुदायलाई सहज थिएन् । कक्षा ८ पास गरेपछि एकाधबाहेक सबैले विद्यालयको पढाइ छाड्थे’, उनले भने, ‘अब १० कक्षासम्म भएपनि यहाँ पढ्न पाउने भएका छन् । कक्षा थप भएपछि पढाइ छाडेर बसेका विद्यार्थी पनि भर्ना भएको उनले बताए । ‘यस वर्ष कक्षा ८ बाट १९ जनाले परीक्षा दिएका थिए भने कक्षा ९ कक्षामा २२ जना भर्ना भएका छन्’, उनले भने, ‘अब बीचमै पढाइ छाड्ने क्रम रोकिन्छ ।’

चौकीडाँडा नारायणगढ–मुग्लिन सडकखण्डको भोर्लेबाट करिब १० किलोमिटर दूरीमा छ । यहाँका शिक्षकलाई महानगरपालिकाले दुर्गम भत्ता मासिक रु दुई हजार दिने गरेको महानगरपालिकाका शिक्षा शाखा प्रमुख महेन्द्रप्रसाद पौडेलले बताए । ‘दुर्गममा पढाउन सकेसम्म जान नपरे हुँदो भन्ने शिक्षक धेरै हुनुहुन्छ’, उनले भने, ‘शिक्षकलाई प्रोत्साहन गर्न भत्ताको व्यवस्था गरेका छौँ ।’ चौकीडाँडाको विद्यालयको भौतिक सुधार र शिक्षकलाई प्रोत्साहन गर्ने योजना महानगरपालिकाको रहेको बताए ।

यहाँ शिक्षकलाई बस्नका लागि आवासको व्यवस्था छैन । विद्यालयका शिक्षकका बस्न आवासको व्यवस्था गरिदिन शिक्षक जीवन अर्यालले आग्रह गरे । ‘आमा समूहको भवनमा बसेका छौँ, पानी पर्दा घरभित्र नै आउँछ, भाँडा थापेर बस्नुपर्छ’, उनले भने, ‘खानेपानीका लागि निकै दुःख छ ।’ चौकीडाँडामा लिफ्टमार्फत खानेपानी पुगे पनि विद्यालयमा नआएको उनले बताए ।

भरतपुर महानगरपालिकाले कक्षा थपेपछि भवन निर्माण गर्न लागेको महानगर प्रमुख रेनु दाहालले बताइन् । ‘माध्यमिक तहको शिक्षा लिन वञ्चित भएको थाहा पाएपछि कक्षा १० सम्म पढाउने निर्णय गरेका छौँ’, दाहालले भनिन्, ‘आगामी वर्षसम्म सक्ने गरी चार कोठे भवन बनाउँदै छौँ । शिक्षक दरबन्दी थप गरेका छौँ ।’ सो भवन निर्माण गर्न रु ४१ लाखमा ठेक्का दिइएको छ । आगामी दिनमा कक्षा १२ सम्म पढाइ सञ्चालन गर्ने योजना रहेको उनले बताइन् । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७