आरजुको ‘आइडिया’ : परिवार नियोजन गरेर बाँदर नियन्त्रण गर्नुपर्छ

‘बँदेल मारेर खान मिल्ने नीति ल्याउनु पर्छ’


१७ भाद्र २०८०, आईतवार
arju

काठमाडौं । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति आरजु राणा देउवाले परिवार नियोजन गरेर बाँदर नियन्त्रण गरिनु पर्ने बताएकी छन् ।

बाँदर र बँदेल संरक्षण गर्नुपर्नेमा आफू पनि रहेको उल्लेख गर्दै राणाले मानिसले नै खान नपाउने गरी संरक्षण गर्नु फाइदाजनक नहुने तर्क गरेकी छन् । ‘बँदेल मानिसले खान्छन्, बाँदर नखालान् । बाँदरलाई परिवार नियोजन गरे हुने रहे छ। भारतको हिमाञ्चल प्रदेशमा त त्यही गरेको रहेछ,’ समितिको आइतबारको बैठकमा बोल्दै उनले भनिन्, ‘बँदेल र बाँदर नियन्त्रणका लागि नीतिगत व्यवस्था नै गर्नुपर्छ ।’

बाँदर र बँदेल नियन्त्रण गर्न नसक्दा बाली भित्र्याउन किसानहरूले नपाएको उनको भनाइ थियो । समितिको बैठकमा सांसदहरूले बाँदर र बँदेलले बाली नोक्सान पुर्‍याउँदा किसानहरू समस्यामा रहेको बताएका थिए । सांसदहरुले बाँदर तथा बँदेलले अन्नबालीमा क्षति पुर्‍याएका कारण उत्पादन घटेको, किसान भोकमरीको सिकार हुने अवस्था रहेको भन्दै क्षतिपूर्ति दिलाउन समिति लाग्नुपर्ने बताएपछि सभापति राणाले बाँदर नियन्त्रणका लागि नयाँ उपायहरु खोजी गर्नुपर्ने बताएकी हुन् ।

उनले भनिन्, ‘यो संवेदनशील विषय हो किनभने मानिसको खाना नै क्षति भइरहेको छ । बाँदरको पहिलादेखि समस्या थियो, बँदेलको पनि समस्या रहेछ । मानिस र जनावरको द्धन्द्धमा के चाहीँ गरिराछ ? संरक्षण गर्नु राम्रो हो, म एकदमै संरक्षण अभियन्ता नै हो । तर मान्छेले खान नपाउनेगरी संरक्षण गरेर त फाइदा छैन ।’

सभापति राणा देउवाले गाँजा खेती खुला गर्नका सरोकारवाला निकायसँग छलफल गरेर सरकारलाई निर्देशन दिनुपर्ने बताएकी छिन् । आइतबार सिंहदरबारमा भएको समितिको आगामी कार्ययोजनाका बारेमा भएको छलफलका क्रममा उनले यस आर्थिक वर्षका लागि औषधी लगायतको प्रयोजनका लागि गाँजा खेती गर्न बजेट समेत व्यवस्था भएको बताउँदै यसबारे आगामी दिनमा समितिमा छलफल गर्ने बताइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७