नेपाल विघटन हुन्छ कि भन्ने ठाउँमा पुग्नसक्छ, यो हेक्का राखिराख्नुस् : विप्लव

‘कांग्रेसलाई पनि समाजवादी मोर्चामा ल्याउने आँट गर्नुपर्छ’


६ आश्विन २०८०, शनिबार
biplaw 1

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपाल एकदमै नराम्रो ठाउँमा पुगेकाले विघटन पनि हुनसक्ने अभिव्यक्ति दिएका छन् ।

आज (शनिबार) काठमाडौंमा आयोजित ‘संविधान, समाजवाद र मानव अधिकार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले कुर्सी, पद र धनको स्वार्थभन्दा माथि उठ्नेले मात्रै देशको समवेदना बुझ्न सक्ने बताएका छन् ।

कार्यक्रममा उनले भने, ‘नेपाल विघटन हुन्छ कि भन्ने ठाउँमा पुग्नसक्छ, यो हेक्का राखिराख्नुस् । नेपाल एकदमै नराम्रो ठाउँमा पुगेको छ । यो समवेदना त्यसले मात्रै बुझ्छ, जो कुर्सी, पद र धनको स्वार्थभन्दा माथि उठ्छ । त्यसले मात्रै बुझ्न सक्छ त्यो । निःशर्त दाउमा राखेर लड्ने मानिसले मात्रै बुझ्ने कुरा हो नि यो । साना–साना पाइला चाल्नेले त्यो कुरा भन्नै सक्दैन । हो यही परिस्थितिलाई समाजवादी मोर्चालाई जायज ठहर्‍याएको छ र यो वस्तुवादी कुरा हो । यो गर्नैपर्छ । त्यो मात्रै होइन, सारा कम्युनिष्टहरूलाई एउटै मोर्चामा ल्याउने गरी सोच्नुपर्छ । हामीले बहस गर्ने आँट गर्नु पर्छ । तिमी साँच्चै देशको सेवा गर्ने हो, जनताको माया गर्ने हो ? ल यसरी भन्ने आँट गर्नुपर्छ । त्यो मात्रै होइन, कांग्रेससँग पनि बहस गर्ने आँट गर्नुपर्छ । ऊ पनि एउटा राजनीतिक क्षेत्र हो नि त । त्यहाँ हामीले बहस गर्नैपर्छ । त्यो गर्ने गरी नै हामी समाजवादी मोर्चामा भाग लिएका हौं । त्यसकारण यो समाजवादी मोर्चाको उद्देश्य के होइन भने सरकारमा, मन्त्रीमा जाने, खाने । यो होइन । नेपालको अगाडि देखा परेको चुनौतीको सामना गर्न गर्ने उद्देश्यले यो समाजवादी मोर्चा खडा गरिएको छ ।’

समाजवादी मोर्चाले सबै कम्युनिष्टहरूलाई एउटै मोर्चामा ल्याउने गरी सोच्नुपर्ने आवश्यकता रहेको उनले बताए । उनले देशको माया गर्ने, जनताको माया गर्ने सबैले कांग्रेसलाई पनि समाजवादी मोर्चामा ल्याउने आँट गर्नुपर्ने जिकिर गरे । उनले नेपालको संविधान पनि परिवर्तन गर्नुपर्ने बताए । जनताको चाहनालाई प्रतिविम्ब नगरेकाले नेपालको संविधान परिवर्तन गर्नुपर्ने उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७