११ किलो सुन प्रकरणमा थप एक जना पक्राउ


२ कार्तिक २०८०, बिहीबार
gold1 UuSBMpwlaX

काठमाडौँ । दोलखाबाट बरामद गरिएको ११ किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन् । रसुवा घर भएका ३८ वर्षीय चेतनाथ न्यौपानेलाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता (एसपी) नवराज अधिकारीले जानकारी दिए ।

न्यौपानेले तस्करी गरेर ल्याएको सुन किन्ने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । दोलखाको सिंगटी र लामाबगरबाट बरामद गरिएको सुन तस्करीमा संलग्न आरोपमा पक्राउ पर्नेको संख्या ११ पुगेको छ । अहिलेसम्म पक्राउ पर्नेमा चीनको सिचुवान घर भएका गेङ रोउ, ६२ वर्षका सनत प्रधान, लालबहादुर तामाङ, दोलखा घर भएका राज तामाङ, केशर तामाङ, माधव मगर, पेम्बा तामाङ, नुर्बु छिरिङ शेर्पा, सुनमाला तामाङ, चसमान तामाङ उर्फ च्याङ्बा र चेतनाथ न्यौपाने छन् ।

असोज ११ मा पहिलो पटक सिंगटीमा ४ किलो सुन भेटिएको थियो । त्यसपछि बिगु गाउँपालिका–३ स्थित सिंगटीबाट ३ किलो र तेस्रोपटक लामाबगरबाट ढुंगामुनि लुकाएर राखेको अवस्थामा थप ४ किलो सुन बरामद गरिएको छ । तस्कर समूहले दोलखा र तिब्बत आउजाउ गर्ने ‘फलेक बोर्डर’ स्थित खोलाबाट तारेर सुन ल्याउने गरेको अनुसन्धानबाट थाहा भएको छ ।

चीनतर्फबाट डोरीले बाँधेर सुन खोलावारी फाल्ने र नेपालतर्फका प्रतिनिधिले त्यहाँबाट काठमाडौँ पठाउने गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय दोलखाका डिएसपी दिपक खड्काले बताए । डिएसपी खड्काले भने, ‘खोलावारी ल्याएपछि उनीहरुले आलुको बोरामा लुकाएर लामाबगरतर्फ ल्याएको भेटिएको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७