जाजरकोट भूकम्पमा ६७ विद्यार्थी र एक शिक्षकको मृत्यु


२७ कार्तिक २०८०, सोमबार
bhukampa school
भूकम्पले क्षति पुर्‍याएको जाजरकोटको भेरी नगरपालिका–३ स्थित त्रिभुवन उच्च माध्यमिक विद्यालयको भवन । तस्वीर : रासस

सुर्खेत । जाजरकोट, रुकुम पश्चिमलगायतका जिल्लामा कात्तिक १७ गते भूकम्पमा परी ६७ विद्यार्थीको मृत्यु भएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय शिक्षा अधिकृत बलवीर सुनारले रुकुम पश्चिममा ३५ र जाजरकोटमा ३२ विद्यार्थीको मृत्यु भएको विवरण प्राप्त भएको जानकारी दिए ।

यस्तै रुकुमपश्चिममा ३६ र जाजरकोट ३५ गरी ७१ विद्यार्थी घाइते भएका छन् । घाइतेमध्ये अधिकांशको अवस्था सामान्य रहेको सुनारले बताए । भूकम्पमा परी जाजरकोटमा एक शिक्षकको मृत्यु भएको छ भने रुकुमपश्चिम र जाजरकोट गरी दुई शिक्षक घाइते भएका छन् ।

भूकम्पका कारण ३० प्रतिशत विद्यार्थी प्रभावित भएको कर्णाली प्रदेश सरकारले जनाएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार प्रभावित विद्यालयमा अध्ययनरत विद्यार्थीमध्ये ३० प्रतिशत भूकम्पबाट प्रभावित भएका हुन् । जाजरकोट र रुकुमपश्चिमका विभिन्न विद्यालयमा अध्ययनरत एक लाख ३३ हजार ६ सय ८७ जनामध्ये ४० हजार एक सय १० विद्यार्थी भूकम्पबाट प्रभावित भएको शिक्षा अधिकृत सुनारले बताए । उनका अनुसार जाजरकोटमा ७५ हजार आठ सय ५३ विद्यार्थीमध्ये २२ हजार सात सय ५९ र रुकुमपश्चिममा ५७ हजार आठ सय ३४ विद्यार्थीमध्ये १७ हजार तीन सय ५१ जना भूकम्पबाट प्रभावित भएको सुनारले जानकारी दिए ।

प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रमा तत्काल छ सय सिकाइ केन्द्रहरू स्थापना गर्ने योजना बनाएको छ । शिक्षा अधिकृत सुनारले तत्काल भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा अस्थायी सिकाइ केन्द्रहरू निर्माण गरी विद्यार्थीको पठनपाठनमा सहयोग पुर्‍याउने योजना रहेको जानकारी दिए ।

कात्तिक १७ गते राति ११ः४७ बजे जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट १५३ जनाको निधन भएको गृह मन्त्रालयको विवरणमा उल्लेख छ । यस्तै ३७२ जना घाइते भएकामा अधिकांश उपचारपछि फर्किएका छन् । साढे पाँच हजारभन्दा बढी घर पूर्ण क्षति भएको छ । साढे ११ हजारभन्दा बढी घरमा आंशिक क्षति पुगेको मन्त्रालयले जनाएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७