जन्ममिति कीर्तेका आरोपित उपरथी ताराध्वज पाण्डेको राजीनामा स्वीकृत


७ मंसिर २०८०, बिहीबार
Taradhwaj Pandey

काठमाडौं । सरकारले नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले राजीनामा स्वीकृत गरेको छ । आज (बिहीबार) बसेको मन्त्रिपरिषद्को बैठकले उपरथी पाण्डेको राजीनामा स्वीकृत गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

उमेर विवादमा मुछिएपछि उपरथी पाण्डेले राजीनामा दिएका थिए । व्यक्तिगत कारण देखाएर बुझाएको राजीनामालाई कात्तिक २४ गतेबाट लागू हुने गरी स्वीकृत गरिएको सञ्चारमन्त्री शर्माले बताएकी छन् ।

उपरथी पाण्डेको शैक्षिक योग्यताको प्रमाणपत्र र नागरिकतामा जन्ममिति फरक परेको भन्दै बढुवा सिफारिसप्रति विभिन्न निकायमा उजुरी समेत परेको थियो । पाण्डे २०४३ सालमा सेनाको अधिकृत क्याडेटमा भर्ना हुँदा उनको नागरिकता प्रमणपत्रमा जन्म मिति २३ मंसिर २०२३ उल्लेख छ । तर उनको शैक्षिक प्रमाणपत्रमा भने जन्ममिति १२ माघ २०२१ उल्लेख भएको विषय बाहिर आएपछि विवाद सुरु भएको थियो ।

पाण्डेको एसएलसी बोर्डको प्रमाणपत्र, क्याम्पसको रेकर्ड तथा त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको दर्ता कार्डमा जन्म मिति २०२१ माघ १२ गते उल्लेख भएको तर उनले नागरिकतामा जन्म मिति सच्याएर २०२३ मंसिर १३ गते बनाएको आरोप लगाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७