राप्रपाले गर्‍यो गणतन्त्रविरोधी आन्दोलनको मस्यौदा पारित, पृथ्वी जयन्ती धुमधाम मनाइने

शासन व्यवस्था असफल भइसकेको र यथास्थितिमा देशअघि बढ्न नसक्ने निष्कर्ष


२१ मंसिर २०८०, बिहीबार
rapprapa
फाइल फोटो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनालगायतका एजेण्डासहित गणतन्त्रविरोधी आन्दोलनको मस्यौदा पारित गरेको छ ।

आज (बिहीबार) बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले मस्यौदा समितिको प्रस्तावलाई परिमार्जन गर्दै पारित गरेको हो । राप्रपाले राजसंस्था, हिन्दुराष्ट्रको पुनःस्थापना, संघीयता खारेजी र सुशासन तथा जनजीविकाका पक्षमा आन्दोलन गर्न गठित मस्यौदा समितिको प्रस्तावलाई परिमार्जनसहित पारित गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

मस्यौदा समितिले तयार पारेको प्रस्तावलाई केन्द्रीय कार्यसमितिको बैठकमा पेश गर्ने निर्णय पनि भएको छ । राप्रपाले पुस १ गतेदेखि ३ गतेसम्म काठमाडौंमा केन्द्रीय समिति बैठक गर्ने तयारी गरेको छ । राजनीतिक, सामाजिक, आर्थिक रुपले देश संकटपूर्ण अवस्थामा रहेको, देशको नेतृत्व र शासन व्यवस्था असफल भइसकेको र यथास्थितिमा देशअघि बढिरहन नसक्ने निष्कर्ष निकाल्दै राप्रपाले आन्दोलनको अपरिहार्यतामा जोड दिएको प्रवक्ता श्रेष्ठ बताउँछन् ।

पुस २७ गते पृथ्वी जयन्ती केन्द्रीय तहमा र सबै तहमा उत्सवको रुपमा मनाउने निर्णय पनि राप्रपाले गरेको छ । ‘राष्ट्रिय सभाको निर्वाचनमा सहभागी हुने, यसबारे अन्य दलसँग आवश्यक सहयोग जुटाउन, संवाद गर्न राजनीतिक विभाग प्रमुख बुद्धिमान तामाङलाई जिम्मेवारी दिइएको छ,’ राप्रपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

साथै इलाममा हुने प्रतिनिधिसभाको उपनिर्वाचनमा पार्टीको तर्फबाट आवश्यक तयारी, समन्वय र सहजीकरण गर्न उपाध्यक्ष हेमजङ्ग गुरुङलाई जिम्मेवारी दिइएको राप्रपाले जनाएको छ । केन्द्रीय कार्यसम्पादन समिति बैठकले राप्रपा नियमावली–२०८० लाई संशोधनसहित पारित गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७