संसारीमाई मन्दिरमा राजेन्द्र रेग्मी १६ दिनदेखि निराहार तपस्यामा


३० मंसिर २०८०, शनिबार
rajendra regmi2023 12 15 09 12 38

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका–१ स्थित वाग्मती नदीको किनारमा रहेको संसारीमाई मन्दिरमा राजेन्द्र रेग्मी १६ दिनदेखि निराहार तपस्यारत छन् ।

महालक्ष्मी नगरपालिका–८, ललितपुरका रेग्मी १६ दिनदेखि सिसी क्यामेराको निगरानीमा पानी पनि नपिई तपस्यामा लीन भएका हुन् । गत वर्ष फागुन ३ गते सपनामा अलौकिक शक्ति प्राप्त भएको अनुभूति भएपछि पानी पनि नखाई समय बिताउँदै आएको दावी उनले गरेका छन् ।

पानी समेत नखाएको पनि आफूलाई केही फरक नपरेको, भोक नलागेको उनले जानकारी गराए । अलौकिक शक्ति प्राप्त भएपछि १२० केजीका रेग्मीको तौल घटेर ८० केजी भएको पनि मन्दिर परिसरमा राखिएको ब्यानरमा उल्लेख गरिएको छ ।
मंसिर १४ गतेदेखि भने उहाँ संसारीमाई मन्दिर परिसरमा सिसीक्यामेराको निगरानीमा केही नखाई बस्नुभएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । उनको निगरानी सिसीक्यामेरा, स्थानीयवासी र प्रहरी प्रशासनले पनि गरिरहेको छ ।

निराहार व्रत बसिरहेका उनको दर्शनका लागि आउने भक्तजनको संख्या पनि मन्दिर क्षेत्रमा बढ्न थालेको छ ।
निराहार तपस्यामा रहेका रेग्मीको स्वास्थ्य अवस्थाका बारेमा बुझ्न सङ्घीय सांसद सन्तोष चालिसे, वाग्मती प्रदेशसभा सदस्य बिमल ठकुरी र गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपककुमार रिसाललगायत पुगेको गोकर्णस्थित यज्ञडोल (जगडोल) सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सुदर्शन सिग्देलले जानकारी दिए । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयमा रेग्मीसँगै काम गरेका सिग्देल सहकर्मीमा एक्कासी आएको परिवर्तनले आफू पनि आश्चर्यचकित भएको बताउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७