आरती साह मृत्यु प्रकरण : श्रीमान मोतीबाबु पक्राउ


९ पुष २०८०, सोमबार
Capture1703482563

जनकपुर । धनुषाकी आरती साह मृत्यु प्रकरणमा अभियुक्त बनाइएका आरतीका पति मोतीबाबु साहलाई प्रहरीले पक्राउ गरेको छ । साहलाई प्रहरीले आज सोमबार बिहान जनकपुरधामको सगुन होटेलबाट पक्राउ गरेको हो । सो प्रकरणमा गत मंसिर २० गते सर्वोच्च अदालतले गरेको फैसलामा आरतीका पती साहलाई पक्राउ गर्ने आदेश दिइएको थियो ।

गत जेठ ७ गते आफ्नै घरमा मृत फेला परेकी आरती साहको हत्या भएको भन्दै आरतीका माइती पक्षले जाहेरी दिएका थिए । सो घटनामा प्रहरीले राम्रोसँग अनुसन्धान नगरेको भन्दै माइती पक्षले लामो समयदेखि काठमाडौंस्थित माइतीघरमा धर्ना दिँदै आएका थिए । पक्राउ परेका मोतीबाबुलाई सार्वजनिक विदा पछि अदालतमा पेश गरिने छ । माइती पक्षले जाहेरी दिएपछि प्रहरीले आरतीका पति मोतीबाबु साह र ससुरा मदनमोहन ब्याहुत सुडीलाई पक्राउ गरेको थियो ।

उनीहरुविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय धनुषाले १ असारमा जिल्ला अदालत धनुषामा ज्यानसम्बन्धी मुद्दा दायर गरेको थियो । थुनछेक बहसपछि ५ असारमा जिल्ला अदालतले आरतीका पति र ससुरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । तर, उच्च अदालत जनकपुरधामले तत्काल प्राप्त प्रमाणका आधारमा आरतीका पति र ससुरालाई थुनामा राख्न आवश्यक नदेखिएको भन्दै रिहा गर्ने आदेश दिएको थियो ।

उच्च अदालतको आदेशविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले गरेको पुनरावेदन निवेदनमा सर्वोच्च अदालतले मंसिर २० मा सुनुवाइ गरेको थियो । सुनुवाइपछि ससुरा मदनमोहन ब्याहुत सुडीलाई रिहा गर्ने उच्च अदालतको आदेश सदर गरेको छ भने श्रीमान् मोतीबाबुलाई भने थुनामा पठाउने आदेश दिएको थियो। सर्वोच्चको आदेश अनुसार उनका श्रीमानलाई पक्राउ गरिएको हो ।

छोरीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै आरतीकी आमा, बुबा, बहिनी, भई मामा लगायत करिब तीनमहिनादेखि काठमाडौंको माइतीघरमण्डलमा धर्ना दिँदै आएका थिए । आरती र मोतीबाबुबीच २९ असार २०७७ मा विवाह भएको थियो । दाइजोको निहुँमा पति र ससुराबाट आरतीले धेरै यातना पाएको र मृत्युको कारण पनि यही भएको माइती पक्षको आरोप छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७